कृष्णभिरमा नयाँ ट्र्याक निर्माण सम्पन्न, भोलिदेखि पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालन हुने

User Image Prime TV News २ घण्टा अगाडि
Image of कृष्णभिरमा नयाँ ट्र्याक निर्माण सम्पन्न, भोलिदेखि पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालन हुने

काठमाडौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा बाढीले क्षति पुर्‍याएको सडक खण्डमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबार बिहानसम्म नयाँ ट्र्याक निर्माणको काम पूरा भएको हो। नयाँ ट्र्याक निर्माण सम्पन्न भएसँगै बिहीबारदेखि पृथ्वी राजमार्गमा पूर्णरूपमा सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको छ।

यससँगै केही दिनदेखि अवरुद्ध रहेको काठमाडौं–मुग्लिन सडकखण्डमा आवागमन सहज हुने अपेक्षा गरिएको छ। भोटेकोशीमा विनाशकारी बाढी आएको चार दिनपछि, भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभिर क्षेत्रमा सडक कटान गरेको थियो। सडक कटान भएपछि पृथ्वी राजमार्गको उक्त खण्ड अवरुद्ध भएको थियो।

यसअघि भदौ २८ गते नयाँ ट्र्याकबाट केही हेभी सवारीसाधन गुडाएर परीक्षण गरिएको थियो। परीक्षण सफल भए पनि ट्र्याक निर्माणको काम पूर्णरूपमा सम्पन्न नभएको भन्दै नियमित रूपमा सवारीसाधन सञ्चालन गर्न दिइएको थिएन।

राजमार्ग अवरुद्ध भएपछि पृथ्वी राजमार्ग हुँदै सञ्चालन हुने ठूला तथा साना सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरेर काठमाडौं तथा अन्य गन्तव्यतर्फ आवतजावत गर्दै आएका छन्। नयाँ ट्र्याक सञ्चालनमा आएपछि पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा मालवाहक सवारीसाधनलाई राहत पुग्ने भएको छ।