विपद्पछि उद्धार र विद्युत् व्यवस्थापनमा ध्यान दिँदै ऊर्जामन्त्री श्रेष्ठले कोरिया भ्रमण रद्द गरे

User Image Prime TV News २ घण्टा अगाडि
Image of विपद्पछि उद्धार र विद्युत् व्यवस्थापनमा ध्यान दिँदै ऊर्जामन्त्री श्रेष्ठले कोरिया भ्रमण रद्द गरे

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका छन्।

देशमा उत्पन्न प्राकृतिक विपत्ति र त्यसबाट ऊर्जा क्षेत्रमा परेको क्षतिपछि उद्धार, पुनःस्थापना तथा विद्युत् आपूर्ति नियमित बनाउने कार्यलाई प्राथमिकता दिँदै उनले भ्रमण रद्द गरेका हुन्। भोटेकोसी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको छ।

बाढीपछि अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको अवस्थामा खोज तथा उद्धार कार्यका लागि प्रभावकारी समन्वय गर्नुपर्ने जिम्मेवारी मन्त्रालयसामु रहेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।

साथै बाढीबाट क्षतिग्रस्त ऊर्जा संरचनाको पुनःस्थापना, विद्युत् आपूर्तिलाई नियमित तथा व्यवस्थित बनाउने, प्रभावित निजी ऊर्जा उद्यमीलाई आवश्यक सहजीकरण गर्ने र विपद्पछिको पुनर्निर्माण तथा पुनरुत्थानका कामलाई तीव्रता दिनुपर्ने भएकाले मन्त्री श्रेष्ठले विदेश भ्रमण नगर्ने निर्णय गरेको सचिवालयले जनाएको छ।

मन्त्री श्रेष्ठलाई दक्षिण कोरियाको राजधानी सियोलमा सेप्टेम्बर १५ देखि १७ तारिखसम्म आयोजना हुने ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स २०२६’ मा मुख्य वक्ताका रूपमा सहभागी हुन आमन्त्रण गरिएको थियो।

यसअघि मन्त्रिपरिषद्ले गत साउन १३ गते मन्त्री श्रेष्ठसहित नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलगायतको टोलीलाई उक्त कार्यक्रममा सहभागी हुन दक्षिण कोरिया भ्रमणको स्वीकृति दिएको थियो।

तर मुलुक विपद्को चपेटामा परेका बेला उद्धार, विद्युत् आपूर्ति व्यवस्थापन र क्षतिग्रस्त संरचनाको पुनःस्थापनालाई प्राथमिकता दिँदै मन्त्री श्रेष्ठले भ्रमण स्थगित गर्ने निर्णय गरेका हुन्।