असोजमा बैंकको मुद्दती निक्षेपको ब्याजदर घट्यो, औसत ४.०९ प्रतिशतमा
Prime TV News एक घण्टा अगाडि काठमाडौ । वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
सार्वजनिक विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूले दिने अधिकतम ब्याजदरको औसत पुनः घटेको छ। २० वटा वाणिज्य बैंकको विवरणअनुसार असोजमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ४.०८९६ प्रतिशत कायम भएको छ।
भदौमा यस्तो औसत ब्याजदर ४.१३६० प्रतिशत थियो। यस आधारमा एक महिनामा औसत ब्याजदर ०.०४६४ प्रतिशत बिन्दुले घटेको देखिन्छ। यसअघि साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ४.१६७५ प्रतिशत थियो। अर्थात् पछिल्ला दुई महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर निरन्तर घटेको छ।
असोजमा चार वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने १६ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। ब्याजदर घटाउने बैंकमा नबिल, एभरेस्ट, स्ट्यान्डर्ड चार्टर्ड र कुमारी बैंक रहेका छन्।
केही बैंकले अधिकतम ब्याजदर सामान्य रूपमा घटाएपछि समग्र औसतमा पनि कमी आएको हो। असोजमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५५ प्रतिशतभन्दा तल झरेको छ। प्रभु बैंकले भने अन्य बैंकको तुलनामा केही बढी ब्याजदर प्रस्ताव गरेको देखिन्छ।
यद्यपि, बैंकले प्रस्ताव गर्ने उच्चतम ब्याजदर सबै अवधिका मुद्दती निक्षेपमा लागू हुँदैन। उदाहरणका लागि ४.५५ प्रतिशतसम्मको ब्याजदर १० वर्षभन्दा बढी अवधिका निक्षेपका लागि मात्र लागू हुने भएकाले छोटो अवधिको मुद्दतीमा ब्याजदर तुलनात्मक रूपमा कम हुन्छ।
असोजमा सार्वजनिक गरिएको ब्याजदर नयाँ खोलिने मुद्दती निक्षेप तथा अवधि पूरा भएर नवीकरण हुने खातामा लागू हुनेछ। यसअघि नै लामो अवधिका लागि मुद्दती खाता खोलेकाहरूले भने खाता खोल्दाको सम्झौताअनुसार तोकिएको ब्याजदर नै पाउनेछन्।
निक्षेपको ब्याजदर घट्दा बैंकको आधार दरमा समेत कमी आउने र त्यसले कर्जाको ब्याजदर घटाउन दबाब सिर्जना गर्ने गर्छ। त्यसैले मुद्दती निक्षेपको ब्याजदरमा आएको कमीले आगामी दिनमा कर्जाको ब्याजदरमा समेत प्रभाव पार्न सक्ने देखिन्छ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहे पनि कर्जा माग तथा प्रवाह अपेक्षाअनुसार विस्तार हुन नसक्दा बैंकहरू ब्याजदर घटाउने अवस्थामा पुगेका छन्। वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ। राष्ट्र बैंकले निक्षेप संकलन तथा स्थायी निक्षेप सुविधालगायतका माध्यमबाट बैंकिङ प्रणालीको अतिरिक्त तरलता खिच्दै आएको छ।
यसको प्रभाव बैंकहरूको निक्षेप व्यवस्थापन र ब्याजदर निर्धारणमा समेत देखिएको छ।







