सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, तीन कम्प्युटर जले
Prime TV News ४६ मिनेट अगाडि 
काठमाडौ । सर्वोच्च अदालतको नयाँ भवनमा बुधबार बिहान आगलागी भएको छ।
नयाँ भवनको भुइँतलामा रहेको मुद्दा फाँटमा बिहान करिब साढे ८ बजे आगलागी भएको पाइएको हो। आगलागी मुद्दा फाँटका २० र २१ नम्बर कक्षमा भएको बताइएको छ। घटनामा तीनवटा कम्प्युटर जलेर क्षति भएको प्रारम्भिक विवरण छ।
न्यायकर्मी हरि भट्टराईले आगलागी भएको स्थानका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने उल्लेख गरेका छन्। उनले अदालत परिसरमा विद्युतीय सुरक्षाप्रति थप सावधानी अपनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
सर्वोच्च अदालतको नयाँ भवनमा यसअघि पनि आगलागीको घटना भएको थियो। गत भदौ १७ गते राति सर्वोच्च अदालतकै अभिलेख शाखामा आगलागी भएको थियो। त्यस्तै, गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतको पुरानो भवनमा आगजनी भएको थियो। त्यस घटनापछि सर्वोच्च अदालतको कामकारबाही नयाँ भवनबाट सञ्चालन हुँदै आएको छ।
बुधबार भएको आगलागीबाट भएको क्षतिको थप विवरण तथा आगलागीको वास्तविक कारणबारे सम्बन्धित निकायबाट अनुसन्धान हुन बाँकी छ।







