प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट
Prime TV News ३१ मिनेट अगाडि 
काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले विपत्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारले देखाएको ऐक्यबद्धता र सहयोगका लागि धन्यवाद दिएका छन् ।
भेटमा प्रधानमन्त्री शाहले पछिल्लो विपत्बाट नेपाली नागरिकसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताएका थिए । जलवायु परिवर्तनका कारण नेपालले विभिन्न किसिमका विपत्को सामना गर्नुपरेको उल्लेख गर्दै उनले जलवायुजन्य विपत्को जोखिम घटाउन र त्यसबाट हुने क्षति न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए ।
प्रधानमन्त्री शाहले नेपालमा पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै पर्यटन क्षेत्रको विकासबाट नेपाल र अमेरिकाबीच पारस्परिक लाभ लिन सकिने बताए । उनले नेपाल अमेरिकी लगानीका लागि खुला रहेको पनि बताएका छन् ।
भेटका क्रममा अमेरिकी कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरिन् । उनले बाढीबाट प्रभावित परिवार र समुदायप्रति समवेदना पनि प्रकट गरिन् ।
राजदूत बोल्डिनले विपत्को समयमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताउँदै राहत, पुनःस्थापना र पुनर्निर्माणका काममा आवश्यक सहयोग तथा सहकार्य गर्न अमेरिका तयार रहेको जानकारी दिइन् ।







