एमालेले असोज ५ देखि तीन दिन केन्द्रीय कमिटी बैठक बोलायो
Prime TV News ३० मिनेट अगाडि 
काठमाडौ । नेकपा एमालेले असोज ५ गतेदेखि तीन दिनसम्म बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको छ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक असोज ५, ६ र ७ गते बस्नेछ। बैठकको स्थान भने अझै तय भएको छैन। बैठकका एजेन्डा सचिवालय बैठकबाट टुंगो लगाइने उनले जानकारी दिएका छन्।
केन्द्रीय कमिटी बैठकमा निर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा छलफल हुने बताइएको छ। यी विषयमा अध्ययन गर्न गठन गरिएको कार्यदलले तयार पारेको प्रतिवेदन पनि बैठकमा प्रस्तुत गरिनेछ।
वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित कार्यदलमा पार्टी पुनर्गठनका विषयमा फरक–फरक धारणा देखिएको छ। कार्यदलका सदस्यसचिव तथा महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने प्रस्तावसहित ६५ पृष्ठको प्रतिवेदन तयार पारेका छन्।
त्यसको विपरीत कार्यदलका संयोजक बादलले फरक धारणा समेटिएको ३९ पृष्ठको प्रतिवेदन तयार पारेका छन्। दुवै प्रतिवेदन कार्यदलको बैठकमा पेस भएपछि त्यसलाई एउटै प्रतिवेदन बनाउने सहमति भएको छ।
दुवै प्रतिवेदनलाई एकीकृत गर्ने जिम्मेवारी संयोजक बादल, उपाध्यक्ष विष्णु पौडेल र सदस्यसचिव पोखरेललाई दिइएको छ। तीन नेताले छलफल गरेर असोज १ गते बस्ने कार्यदल बैठकमा संयुक्त प्रतिवेदन पेस गर्ने तयारी छ।
फरक धारणा समेटिएका दुई प्रतिवेदनलाई तीन नेताले कसरी एउटै दस्तावेजमा समेट्छन् भन्ने विषयलाई एमालेभित्र चासोका साथ हेरिएको छ। असोज ५ देखि हुने केन्द्रीय कमिटी बैठकले त्यसपछि पार्टी पुनर्गठन र निर्वाचन समीक्षासम्बन्धी विषयमा आवश्यक निर्णय गर्नेछ।







