विद्युतीय गाडी ­( इभी ) को भ्रम र यथार्थ

User Image Prime TV News २६ मिनेट अगाडि
Image of विद्युतीय गाडी ­( इभी ) को भ्रम र  यथार्थ

प्रदीप खनाल

चितवनको भरतपुरमा गुडिरहेको इभी (विद्युतीय गाडी) मा आगलागी हुँदा चालकको गाडी भित्रै मृत्यु भएको थियो भने यस अघि पनि इभी गाडीमा आगोलागी भएका घटनाहरु छन्।

 यो समस्या नेपालमा मात्र नभएर इलेक्ट्रोनिक डोर लक (Electronic Door Lock) भएका विश्वका जुनसुकै आधुनिक गाडीमा पनि हुन सक्छ। धेरै जसो विद्युतीय गाडीमा आगो लाग्दा वा दुर्घटना हुँदा ढोका नखोलिने प्राविधिक कारणले मानिसको मृत्यु हुने गरेको छ।

विद्युतीय गाडी (EV) मा आगो लाग्नुको मुख्य कारण यसमा प्रयोग हुने लिथियम-आयन ब्याट्रीमा हुने 'थर्मल रनअवे' (अत्यधिक तातेर नियन्त्रण बाहिर जाने प्रक्रिया) हो, जुन प्रायः सडकका खाल्डाखुल्डी वा ढुङ्गामा गाडीको तल्लो भाग ठोक्किएर ब्याट्री प्याक भित्र सर्ट-सर्किट हुँदा, वा ब्याट्री उत्पादनकै बेला भएको प्राविधिक त्रुटिका कारण हुन सक्छ।

यसका साथै, ब्याट्रीको तापक्रम सन्तुलन मिलाउने BMS सफ्टवेयर फेल हुनु, अत्यधिक गर्मीमा लगातार फास्ट चार्ज गर्दा ब्याट्री ओभरहिट हुनु, ब्याट्रीभित्र पानी पस्नु र गाडी किनेपछि बाहिर पसलमा गएर जथाभाभी थप इलेक्ट्रोनिक सामान वा वायरिङ परिमार्जन गर्दा सर्ट-सर्किट भई अचानक आगलागी हुने गर्दछ।

मुख्य ब्याट्रीमा जतिसुकै पावर बाँकी भए पनि, ढोकाको लक खोल्ने कमाण्ड दिने १२ भोल्टको प्रणाली नै नष्ट भयो भने ढोकाहरू कतैबाट पनि खुल्दैनन्। ९५% भन्दा बढी इभिगाडीका अत्याधुनिक ढोका, सेन्सर र इलेक्ट्रिक ह्यान्डलहरू गाडीमा हुने सानो १२-भोल्ट (12V) को ब्याट्रीबाट चल्छन्।

जब गाडीमा सर्ट-सर्किट वा गम्भीर आगलागी हुन्छ, यो विद्युत प्रणाली तुरुन्तै ठप्प  हुन सक्छ । पावर काटिएपछि ढोका खोल्ने स्विच वा सेन्सरले काम गर्दैनन्। गाडी गुडिरहेका बेला स्वतः लक (Auto-lock) भएका ढोकाहरू विद्युत नहुँदा लक अवस्थामै रोकिन्छन्।

के इभीमा ढोका खोल्ने अन्य विकल्प हुँदैन? पक्कै हुन्छन् । प्रत्येक इलेक्ट्रोनिक ढोकामा 'म्यानुअल रिलिज' (Manual Emergency Release) अनिवार्य हुन्छ। यसले बिना बिजुली, केवल एउटा फलामको तार वा लिभरको मद्दतले मेकानिकल रूपमा ढोका खोल्छ।

तर, यी म्यानुअल ह्यान्डलहरू लुकेका वा भिन्न ठाउँमा (जस्तै: ढोकाको खल्तीभित्र, सिटको मुनि, वा एउटा कभरभित्र) राखिएका हुन्छन्। आपतकालीन समयमा, अत्याधिक धुवाँ र डर (Panic) का कारण चालक वा यात्रीले उक्त लुकेको ह्यान्डल भेटाउन सक्दैनन्।

यदि तपाईं ईभी वा इलेक्ट्रोनिक ढोका भएको कुनै पनि नयाँ गाडी चलाउनुहुन्छ भने तपाईंलाई म्यानुअल रिलिज बारे  पूर्व ज्ञान हुन जरुरी छ  मतलब विद्युत नहुँदा भित्रबाट ढोका कसरी खोल्ने भन्ने कुराको पूर्व-अभ्यास गर्दा राम्रो हुन्छ।

गाडीको क्याबिनभित्र सजिलै हात पुग्ने ठाउँमा विन्डो क्र्यासर (शिशा फुटाउने औजार) को ब्यबस्था गरेर पनि आपत परेको बेला सिसा फुटाएर निस्किन सक्नुहुन्छ ।