उपत्यका बाहिर सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुला
Prime TV News १५ मिनेट अगाडि 
काठमाडौ । यातायात व्यवस्था विभागले काठमाडौ उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता प्रक्रिया खुला गरेको छ।
विभागका अनुसार असोज १ गतेदेखि लागू हुने गरी उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला गरिएको हो। दर्ता हुने सवारीसाधनमध्ये विद्युतीय सार्वजनिक यात्रुवाहक सवारीलाई विशेष प्राथमिकता दिइने विभागले जनाएको छ।
तर, काठमाडौं उपत्यकाभित्र भने नयाँ सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्तामा लगाइएको रोक कायमै रहनेछ। उपत्यकाको सडक र रुट व्यवस्थापनलाई ध्यानमा राख्दै स्कुल बस तथा पुराना सार्वजनिक सवारीसाधनको सट्टा भर्नाका लागि मात्र दर्ता खुला गरिएको विभागले जनाएको छ।
यसअघि विभागले जेठ ७ गते सार्वजनिक सवारीसाधनको पैठारी तथा दर्तामा रोक लगाएको थियो। त्यसपछि साउन १८ गतेदेखि मालवाहक सवारीसाधनको दर्ता खुला गरिएको थियो। अब असोज १ गतेदेखि उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्तासमेत खुला गरिने भएको हो। विभागले विशेषगरी विद्युतीय सार्वजनिक सवारीलाई प्राथमिकता दिने जनाएको छ।






