सुत्केरीलाई ६ महिना र श्रीमानलाई ४२ दिन तलबसहित बिदा दिने प्रस्ताव

User Image Prime TV News १५ मिनेट अगाडि
Image of सुत्केरीलाई ६ महिना र श्रीमानलाई ४२ दिन तलबसहित बिदा दिने प्रस्ताव

काठमाडौ । सरकारले सुत्केरी महिलालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ।

त्यस्तै, बच्चा जन्मिएपछि श्रीमानलाई पनि ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न स्वास्थ्य मन्त्रालयले तयार पारेको विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।

कानुनमन्त्री सोविता गौतमले विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसद्मा लैजाने तयारी भइरहेको जानकारी दिएकी छन्। उनले आमालाई मात्र नभई बुबालाई पनि नवजात शिशुको हेरचाहमा पर्याप्त समय दिन सक्ने गरी कानुनी व्यवस्था गर्न खोजिएको बताएकी छन्।

मन्त्री गौतमका अनुसार बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको भन्दै बुबालाई समेत प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको हो। कामको चाप र बदलिँदो जीवनशैलीका कारण परिवारमा सन्तानको संख्या घट्दै गएको तथा जन्मदरमा समेत कमी आएको उल्लेख गर्दै सरकारले अभिभावकलाई नवजात शिशु र परिवारसँग पर्याप्त समय बिताउन सक्ने वातावरण बनाउन खोजेको जनाएको छ।

यसैबीच, प्रतिनिधिसभामा पनि सुरक्षित मातृत्वसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। सांसद सीता थपलियाले दर्ता गरेको प्रस्तावमा हाल कायम ९८ दिनको प्रसूति बिदा पर्याप्त नभएको उल्लेख गर्दै सुरक्षित मातृत्वका लागि थप व्यवस्था गर्न माग गरिएको छ।

प्रस्तावमा नेपालको संविधानको धारा ३८(२) ले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख छ। जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले पनि यससम्बन्धी अधिकार कार्यान्वयन गरेको प्रस्तावमा जनाइएको छ।

निजी क्षेत्र, बैंक, गार्मेन्ट उद्योग तथा अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरूले पर्याप्त प्रसूति बिदा नपाउने अवस्था रहेको प्रस्तावमा उल्लेख छ। ९८ दिनको बिदा सकिएपछि काखे बच्चा छाडेर काममा फर्किनुपर्ने बाध्यता रहेको भन्दै प्रसूति बिदा थप गर्नुपर्ने माग गरिएको हो। प्रस्तावलाई भूमिका लिम्बु सुब्बा, बलावती शर्मा, राधिका रम्तेल र सरस्वती लामाले समर्थन गरेका छन्।