नेप्से २१ अंकले घट्यो, कारोबार रकम पनि ३५ प्रतिशत कम

User Image Prime TV News १९ मिनेट अगाडि
Image of नेप्से २१ अंकले घट्यो, कारोबार रकम पनि ३५ प्रतिशत कम

काठमाडौ । मंगलबार दोहोरो अंकले बढेको सेयर बजार परिसूचक नेप्से बुधबार भने दोहोरो अंकले घटेको छ। आज नेप्से २१.१९ अंकले घटेर २ हजार ६१२.४२ बिन्दुमा झरेको छ।

बुधबार ३५० कम्पनीका सेयर कारोबार भएका छन्। त्यसमध्ये ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। आज कुल १ करोड ५१ लाख १ हजार ५५५ कित्ता सेयर ५५ हजार ८३१ पटक कारोबार भएको छ।

यी कारोबारबाट ५ अर्ब ३८ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यो रकम मंगलबारको तुलनामा करिब ३५ प्रतिशत कम हो। बुधबार सेयर बजारमा सूचीकृत सबै समूहको परिसूचक घटेको छ। जलविद्युत समूहमा सबैभन्दा बढी गिरावट आएको छ। उक्त समूहको परिसूचक १.०४ प्रतिशतले घटेको छ।

आज नारायणी डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनी, कालिका लघुवित्त वित्तीय संस्था र बोटलर्स नेपालका सेयरधनीले तुलनात्मक रूपमा बढी कमाएका छन्। त्यस्तै, एनएमबी हाइब्रिड फन्ड, राइजिङ इनर्जी लिमिटेड, नेपाल वेयरहाउजिङ कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका सेयरधनीले बढी गुमाएका छन्।

कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी अगाडि रहेको छ। कम्पनीको ३७ करोड ९५ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।