चिलिमे हाइड्रोको सुरुङमा चार शव फेला
Prime TV News २४ मिनेट अगाडि 
काठमाडौ । भोटेकोशी नदीमा आएको बाढीपछि पुरिएको रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा बुधबार चार वटा शव फेला परेका छन्।
नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सञ्चालन गरेको खोज तथा उद्धारका क्रममा सुरुङभित्र चार शव फेला पारेको हो। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार तीन वटा सग्लो शव र एउटा मानव अङ्ग भेटिएको छ।
उद्धार टोलीले सुरुङभित्र करिब ७० मिटर प्रवेश गरेर गोताखोरको सहयोगमा शव निकालिएको उनले जानकारी दिए। बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशंका गरिएको थियो। त्यसपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले लगातार खोज तथा उद्धार गरिरहेको छ।
गत भदौ १० गते आएको विनाशकारी बाढीले चिलिमेसहित रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको थियो। बाढीका कारण आयोजनाका संरचना तथा सुरुङहरूमा समेत क्षति पुगेपछि सम्भावित रूपमा फसेका मानिसको खोजी भइरहेको छ।






