कांग्रेसको १५औ महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी हुने

User Image Prime TV News ३४ मिनेट अगाडि
Image of कांग्रेसको १५औ महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी हुने

काठमाडौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्।

बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय निर्वाचन समितिले आगामी असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनमा देशभरबाट करिब ७ हजार प्रतिनिधि सहभागी हुने जानकारी दिएको हो।

निर्वाचन समितिका सदस्य राजु नेपालका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या करिब ७ हजार पुग्नेछ। कांग्रेसका अनुसार रसुवा, नुवाकोट र धादिङलगायत केही जिल्लाबाहेक करिब ८ लाख ७० हजार क्रियाशील सदस्य छन्।

महाधिवेशनलाई व्यवस्थित बनाउन देशभर करिब ९ हजार निर्वाचन अधिकृत परिचालन गरिएको कांग्रेसले जनाएको छ। स्थानीय तहका पार्टी समितिसँग समन्वय गरेर निर्वाचनसम्बन्धी काम अघि बढाइएको छ।

निर्वाचन समितिका सदस्यसचिव नेपालका अनुसार तीन जिल्लाबाहेक ७४ जिल्लामा निर्वाचनसम्बन्धी सामग्री र प्रक्रिया अघि बढिसकेको छ। कांग्रेसको संशोधित कार्यतालिकाअनुसार वडा अधिवेशन असोज ३ र ४ गते, गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन असोज १० गते गर्ने तयारी छ।

त्यसपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुनेछ। कांग्रेसले यस पटकको महाधिवेशनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने जनाएको छ। वडा तहदेखि नै नेतृत्व चयन तथा महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अघि बढाइनेछ।

महाधिवेशनमार्फत वडा तहदेखि केन्द्रीय तहसम्म नयाँ नेतृत्व चयन हुने कांग्रेसले जनाएको छ। नयाँ विधानअनुसार विभिन्न तहका समितिमा युवा तथा महिला प्रतिनिधित्वलाई समेत सुनिश्चित गरिएको छ।