काठमाडौं उपत्यकामा ११० रुपैयाँ किलोमै चिनी पाइन्छ : सरकार
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । सरकारले काठमाडौं उपत्यकामा चिनीको अभाव नरहेको जनाएको छ।
सरकारले उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री भइरहेको जानकारी दिएको हो। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी चिनी मौज्दात नगर्न आग्रह गरेको छ।
चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनीको अभाव हुन थालेको र मूल्य बढाइएको भन्ने गुनासो सार्वजनिक भएपछि विभागले यस्तो जानकारी दिएको हो। विभागका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको अध्यक्षतामा मंगलबार सरोकारवालासहित बैठक बसेको थियो।
बैठकमा भएको सहमतिअनुसार काठमाडौं उपत्यकाका विभिन्न खुद्रा तथा थोक बिक्री केन्द्रबाट चिनी बिक्री भइरहेको छ। भाटभटेनी, बिगमार्ट र सेल्सबेरीलगायत एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँका दरले चिनी सहज रूपमा उपलब्ध गराइएको विभागले जनाएको छ।
विभागले चिनीको पर्याप्त उपलब्धता रहेकाले उपभोक्ताले अनावश्यक रूपमा धेरै परिमाणमा चिनी खरिद गरेर मौज्दात नगर्न आग्रह गरेको छ। साथै, बजारमा चिनीको मूल्य तथा आपूर्तिसम्बन्धी समस्या देखिएमा विभागमा जानकारी गराउन पनि अनुरोध गरिएको छ।







