१८ दिनपछि पृथ्वी राजमार्गमा दुईतर्फी सवारी सञ्चालन
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएपछि १८ दिनपछि दुईतर्फी सवारीसाधन सञ्चालनमा आएका छन्।
गत १४ भदौमा त्रिशूली नदीमा आएको बाढीले कृष्णभिर क्षेत्रमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि सो मार्ग हुँदै काठमाडौं आउने–जाने सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्नुपर्ने अवस्था थियो।
नयाँ ट्र्याक निर्माणपछि २८ भदौमा केही हेभी सवारीसाधन सञ्चालन गराएर परीक्षण गरिएको थियो। त्यसपछि ट्र्याकलाई थप व्यवस्थित र सुरक्षित बनाउन निरन्तर काम गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार बिहान ६ बजेदेखि पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो। सम्बन्धित निकायको निरन्तर प्रयासपछि कृष्णभिर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरिएको र अब राजमार्गमा दुईतर्फी सवारी सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले जानकारी दिइन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहीबार बिहानैदेखि पृथ्वी राजमार्गमा दुईतर्फी रूपमा सवारीसाधन सञ्चालनमा आएका छन्। राजमार्ग खुलेसँगै काठमाडौं उपत्यका आउजाउ गर्ने यात्रु तथा मालवाहक सवारीसाधनलाई सहज हुने भएको छ।
राजमार्ग बन्द हुँदा ठूला तथा साना सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरेर काठमाडौं आवतजावत गर्दै आएका थिए। यद्यपि, पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिने, पहिरो जाने तथा ढुंगा–माटो खस्ने जोखिम अझै रहेको प्रशासनले जनाएको छ।
प्रशासनले सवारी चालक र यात्रुलाई मौसम तथा सडकको अवस्थालाई ध्यानमा राखेर सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।







