दुई गोलको अग्रता जोगाउन नसक्दा युनाइटेड कारबाओ कपबाट बाहिरियो

User Image Prime TV News ३ घण्टा अगाडि
Image of दुई गोलको अग्रता जोगाउन नसक्दा युनाइटेड कारबाओ कपबाट बाहिरियो

काठमाडौ । दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड प्रिमियर लिग प्रतिद्वन्द्वी ब्राइटनसँग ३–२ ले पराजित हुँदै इंग्लिस फुटबल लिग कप (कारबाओ कप) को तेस्रो चरणबाटै बाहिरिएको छ।

बुधबार राति ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले सुरुवाती आठ मिनेटमै दुई गोलको अग्रता बनाएको थियो। शिया लेसीले आठौँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए।

त्यसको दुई मिनेटपछि मेसन माउन्टले गोल थपेपछि युनाइटेड २–० ले अघि बढ्यो। तर पहिलो हाफको इन्जुरी समयमा चारलाम्पोस कोस्टौलासले ब्राइटनका लागि गोल गर्दै अन्तर घटाए। दोस्रो हाफमा ब्राइटनले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्‍यो।

६५औँ मिनेटमा पास्कल ग्रोसले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। त्यसको पाँच मिनेटपछि म्याक्सिम डे क्युपरले गोल गरेपछि ब्राइटनले ३–२ को जित निकाल्यो।

दुई गोलको अग्रता लिएर पनि पराजित भएपछि युनाइटेड प्रतियोगिताको तेस्रो चरणबाटै बाहिरिएको हो। बुधबार सम्पन्न अन्य खेलमा एस्टन भिल्लाले कोभेन्ट्री सिटीलाई ३–१ ले पराजित गर्दा एभरटनले उल्भरह्याम्पटनलाई तथा फ्लिटवुड टाउनले सेफिल्ड युनाइटेडलाई समान १–० गोलले हराएका छन्।