इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको ट्रम्पको दाबी
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यको नजिक पुगेको बताएका छन्।
उनले इरान अमेरिकासँग सम्झौता गर्न निकै इच्छुक रहेको दाबीसमेत दोहोर्याएका छन्। बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानी पक्षसँग आफूले प्रत्यक्ष संवाद गरिरहेको बताएका हुन्।
इरानबाट पछिल्ला दिनमा कुनै सन्देश आएको छ कि छैन भन्ने प्रश्नमा उनले आफूले इरानबाटै प्रत्यक्ष खबर पाएको बताए।
युद्ध कुन चरणमा पुगेको छ भन्ने प्रश्नमा ट्रम्पले आफूहरू युद्धको अन्तिम चरणतिर पुगेको आशा व्यक्त गरे। उनले भने, “आशा छ, हामी युद्धको अन्तिम चरणतिर छौँ।”
अमेरिकाको नर्थ क्यारोलिनामा ओर्लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरान सम्झौता गर्न निकै उत्सुक रहेको बताए। उनले अब घटनाक्रम कसरी अघि बढ्छ भन्ने हेर्नुपर्ने उल्लेख गरे।
इरानबाट आएको सन्देश मध्यस्थकर्तामार्फत हो कि प्रत्यक्ष भन्ने प्रश्नमा ट्रम्पले इरानी पक्षबाट आफूलाई सोझै खबर आएको स्पष्ट पारे।
ट्रम्पको पछिल्लो भनाइले अमेरिका–इरानबीच जारी सैन्य तनाव अन्त्यका लागि प्रत्यक्ष संवाद र सम्भावित सम्झौताको प्रयास भइरहेको संकेत गरेको छ।







