आज विश्वकर्मा पूजा, कलकारखाना र औजारको पूजाआराधना गरिँदै

User Image Prime TV News एक घण्टा अगाडि
Image of आज विश्वकर्मा पूजा, कलकारखाना र औजारको पूजाआराधना गरिँदै

काठमाडौ । कालिगढ तथा श्रमिकले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाउँदै छन्।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन भगवान् विश्वकर्माको विधिपूर्वक पूजा गर्ने परम्परा छ। विश्वकर्मा पर्वका अवसरमा विभिन्न कलकारखाना, उद्योग तथा कार्यस्थललाई विशेष रूपमा सजाएर भगवान् विश्वकर्माको तस्बिर वा मूर्तिमा पूजाआराधना गरिन्छ।

कालिगढले आफूले दैनिक प्रयोग गर्ने औजार तथा मेसिनरीको समेत पूजा गर्ने गर्छन्। धार्मिक विश्वासअनुसार विश्वकर्माको पूजा गरी औजारको आराधना गर्दा ती लामो समयसम्म टिक्ने, कामका क्रममा नबिग्रने र राम्रोसँग काम गर्न सकिने विश्वास छ।

यही विश्वासका कारण इञ्जिन जडित मेसिन तथा सवारीसाधनमा समेत आज पूजा गर्ने चलन छ। विश्वकर्मासँग सम्बन्धित धार्मिक कथाअनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसबाट जोगाउन विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेको विश्वास गरिन्छ।

एकै रातमा समुद्रको बीचमा द्वारका निर्माण गरेको मान्यताका कारण विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा पूज्ने परम्परा सुरु भएको प्रा. तोयराज नेपाल बताउँछन्।

विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ। ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रसम्बन्धी ग्रन्थ विश्वकर्माले नै रचना गरेको विश्वास रहेको वास्तुशास्त्री शिव पोखरेल बताउँछन्।

यसै मान्यताका आधारमा नेपालका कालिगढ तथा श्रमिकले विश्वकर्माको पूजा गरी उहाँको विद्वता र सीपको सम्मान गर्ने गर्छन्। विश्वकर्माको पूजाआराधना गर्दा आफूमा पनि उहाँका गुण प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

विश्वकर्मा पर्वसँगै वास्तुविद्हरूले आजको दिनलाई वास्तु दिवसका रूपमा पनि मनाउने गर्छन्। वास्तुशास्त्रका पुस्तकका लेखक तथा अध्येताको सम्झनामा वास्तु दिवस मनाउने गरिएको हो।

पछिल्लो समय नेपालमा वास्तुविद्याप्रति चासो बढ्दै गएको छ। चार उपवेदमध्ये एक मानिने स्थापत्यवेदमा वास्तुशास्त्रसँग सम्बन्धित विषय उल्लेख रहेको मानिन्छ।

स्थापत्यवेदमा आधारित सहर तथा आवास निर्माण गर्ने अभ्यास बढेसँगै नेपालमा वास्तुविद्याको महत्त्व पनि बढ्दै गएको बताइन्छ।