एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठक स्थगित

User Image Prime TV News एक घण्टा अगाडि
Image of एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठक स्थगित

काठमाडौ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बिहीबार बस्ने भनिएको बैठक अन्तिम प्रस्ताव तयार गर्ने विषयमा सहमति जुट्न नसकेपछि स्थगित भएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने तय गरिएको बैठक स्थगित भएको कार्यदलका एक सदस्यले जानकारी दिए। उनका अनुसार बैठकमा कार्यदलले यसअघि तयार पारेका दुईवटा प्रतिवेदनमाथि छलफल गरी त्यसका आधारमा अन्तिम प्रस्ताव तयार गर्ने कार्यसूची थियो।

तर कार्यदल संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अन्तिम प्रस्ताव लेखनको जिम्मेवारी आफैं लिन खोजेपछि बैठक बस्न नसकेको ती सदस्यले बताए। ‘दुवै प्रतिवेदनलाई आधार बनाएर अन्तिम प्रस्ताव तयार गर्ने भन्ने थियो। संयोजकले अडान नछाडेपछि बैठक नबस्ने भयो,’ ती सदस्यले भने।

पार्टीका तल्ला कमिटीबाट सुझाव संकलन गरी कार्यदल सदस्य सचिव तथा महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्न यसअघि काभ्रेको बल्थलीमा कार्यदलको बैठक बसेको थियो।

तर बल्थली बैठकमा उपाध्यक्ष थापाले कार्यदलको औपचारिक प्रतिवेदनसँग फरक धारणा समेटिएको अर्को प्रतिवेदन पेस गरेका थिए। उक्त प्रतिवेदनमा कार्यदलको भूमिकामाथि नै प्रश्न उठाइएको र पार्टी अध्यक्षलाई हटाउने उद्देश्य सहित काम भएको आरोप लगाइएको बताइएको छ।

संयोजक थापाले नै फरक प्रतिवेदन पेस गरेपछि दुवै प्रतिवेदनलाई आधार बनाएर साझा अन्तिम प्रस्ताव तयार गर्न थापा, अर्का उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल सम्मिलित तीन सदस्यीय सानो कार्यदल बनाइएको थियो।

तर अन्तिम प्रस्ताव तयार गर्ने जिम्मेवारी कसले लिने भन्ने विषयमा पुनः विवाद देखिएपछि बिहीबारको बैठक स्थगित भएको हो। कार्यदलको बैठक स्थगित भएसँगै निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी प्रस्ताव तयार गर्ने प्रक्रिया थप लम्बिएको छ।