करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३२ विजेता घोषणा
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत भदौ महिनाका विजेता घोषणा गरेको छ।
रसुवा बाढीका कारण १५ भदौसम्म स्थगित गरिएको कार्यक्रमलाई एकैपटक समेटेर सरकारले १ असोजमा भदौ महिनाका विजेता सार्वजनिक गरेको हो। आन्तरिक राजस्व विभागले बिहीबार भदौ महिनाका लागि कुल ३२ जना विजेता घोषणा गरेको छ।
विभागका अनुसार दुई जनाले जनही १० लाख रुपैयाँ र अन्य ३० जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। विभागका अनुसार १५ भदौसम्मको अवधिमा सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान खरिद गरेका ग्राहकको उपहार कुपन नम्बर ०३६४४७८५२३७८ ले १० लाख रुपैयाँ जितेको छ।
त्यसैगरी, १५ देखि ३१ भदौसम्मको अवधिमा कटियानी पोलिक्लिनिकमा २०० रुपैयाँको सेवा लिएका ग्राहकको कुपन नम्बर ०४८९१५६१८२११ ले १० लाख रुपैयाँको पुरस्कार जितेको विभागले जनाएको छ।
बाँकी ३० विजेताले दैनिक रूपमा घोषणा हुने एक–एक लाख रुपैयाँको पुरस्कार प्राप्त गरेका छन्। विभागले कर प्रणालीमा सहभागिता बढाउने र उपभोक्तालाई खरिद तथा सेवा लिँदा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ।







