राष्ट्रिय सेवा दल विधेयक सम्बन्धी प्रतिवेदन राज्य व्यवस्था समितिबाट पारित
Prime TV News ४९ मिनेट अगाडि 
काठमाडौ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
बिहीबार बसेको समितिको बैठकले विधेयक अध्ययनका लागि गठित उपसमितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो। समिति सभापति हरि ढकालका अनुसार उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको हो।
समितिले पारित गरेको प्रतिवेदन बिहीबार नै बस्ने प्रतिनिधि सभाको बैठकमा पेश गर्ने तयारी गरिएको छ। प्रतिवेदनलाई अन्तिम रूप दिएर प्रतिनिधि सभामा पेश गर्न सभापति ढकालले समिति सचिवलाई निर्देशन दिएका छन्।
यसअघि समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ अध्ययन गरी प्रतिवेदन तयार गर्न ४ भदौ २०८३ मा उपसमिति गठन गरेको थियो। समितिले उपसमितिका सदस्यको जिम्मेवारीसमेत हेरफेर गरेको छ। २२ भदौदेखि लागू हुने गरी दिपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई उपसमिति सदस्यको जिम्मेवारी दिइएको समितिले जनाएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधि, २०८३ को दफा ५ को उपदफा ३ बमोजिम सदस्यको जिम्मेवारी हेरफेर गरिएको हो। प्रतिनिधि सभाबाट विधेयक पारित गर्ने प्रक्रियाअन्तर्गत अब समितिको प्रतिवेदन सदनमा पेश हुनेछ।







