Ad Image

सांसदलाई धम्की दिएको भन्दै रास्वपाको आपत्ति, दोषीमाथि कारबाहीको माग

User Image Prime TV News २ घण्टा अगाडि
Image of सांसदलाई धम्की दिएको भन्दै रास्वपाको आपत्ति, दोषीमाथि कारबाहीको माग

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नी संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर सिंहदरबारको गेटअगाडि भएको प्रदर्शन तथा सांसदविरुद्ध दिइएका धम्कीप्रति आपत्ति जनाएको छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै फरक धारणा राखेकै आधारमा सांसदलाई धम्की दिने तथा हिंसात्मक गतिविधिको चेतावनी दिने प्रवृत्तिको विरोध गरेका हुन् । संसदमा आफ्नो धारणा राख्ने क्रममा आचार्यले अभिव्यक्ति स्वतन्त्रताको महत्त्व स्मरण गराउँदै फ्रान्सेली दार्शनिक भोल्तेयरसँग जोडिएको चर्चित भनाइ उद्धृत गरे ।

उनले फरक विचारप्रति असहमति जनाउन सकिने भए पनि विचार व्यक्त गर्ने अधिकारको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधारभूत पक्ष भएको बताए । उनका अनुसार फरक विचार राखेकै कारण सांसदहरूलाई ‘लतार्ने, घिसार्ने, घर जलाउने’ तथा रक्तपात मच्चाउनेजस्ता धम्की दिनु अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो ।

आचार्यले संसदमा आफ्नो धारणा राख्ने सांसदलाई सुरक्षा र निर्भीकताका साथ बोल्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले सांसदलाई धम्की दिनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरेको जानकारीसमेत दिए ।

‘यी अतिवादी धम्की दिनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइयोस् भनेर मैले गृहमन्त्रीज्यू र प्रधानमन्त्री कार्यालयलाई आग्रह गरिसकेको छु,’ उनले संसदमा भने । केही दिनअघि रास्वपा सचेतक धितालको अभिव्यक्तिलाई लिएर केही व्यक्तिले सिंहदरबारको गेटअगाडि प्रदर्शन गरेका थिए । धितालले भदौ २३ गते पुरानो संसद् भवन परिसरमा आयोजित जेनजी शहीद प्रथम स्मृति दिवसको कार्यक्रमको स्वरूपबारे प्रश्न उठाएकी थिइन् ।

धितालले शहीद परिवार तथा आन्दोलनका घाइतेको पीडालाई पर्याप्त सम्बोधन नगरी भव्य मञ्च निर्माण तथा धर्मगुरुको सहभागितासहित कार्यक्रम आयोजना गरिएको भन्दै त्यसको औचित्यमाथि प्रश्न गरेकी थिइन् । जेनजीको आवाज उठाउने र सरकारका काममाथि प्रश्न गर्नेहरूले समेत कार्यक्रमको स्वरूपबारे हस्तक्षेप गर्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

उनको उक्त अभिव्यक्तिप्रति जेनजी शहीद परिवारसहित केही व्यक्तिले आपत्ति जनाउँदै जवाफ मागेका थिए । त्यसैक्रममा सिंहदरबार गेटअगाडि प्रदर्शनसमेत भएको थियो ।