दुवै महाधिवेशन रोक्दै समझदारीमा जान डा. शेखर कोइरालाको आग्रह
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापन र इतर पक्षबाट अघि बढाइएका दुवै महाधिवेशन रोक्नुपर्ने बताएका छन् ।
पार्टीको आन्तरिक अवस्था र घोषित दुई महाधिवेशनलाई लिएर बिहीबार विज्ञप्ति जारी गर्दै कोइरालाले अहिलेको परिस्थितिमा छुट्टाछुट्टै महाधिवेशन गर्दा त्यसको असर कांग्रेसमा मात्र नभई देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा समेत पर्न सक्ने बताएका हुन् ।
उनले दुवै पक्षले आ–आफ्नो अडान कायम राख्नुको सट्टा महाधिवेशन रोक्दै मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्नुपर्नेमा जोड दिएका छन् । ‘मेरो पीडा कांग्रेसको आसन्न घोषित दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो,’ कोइरालाले विज्ञप्तिमा भनेका छन्, ‘यो रोकौं, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं ।’
कोइरालाले पार्टीभित्रको विवाद समाधानका लागि आफूले यसअघि पनि समझदारीको प्रयास गर्दै आएको र अहिले पनि त्यही दिशामा काम गर्ने बताएका छन् । उनका अनुसार मध्यमार्ग रोज्नु सहज नभए पनि कांग्रेसको राजनीतिक चरित्र र मूल्यमान्यतालाई जोगाउने बाटो त्यही भएको उनको बुझाइ छ ।
‘मलाई थाहा छ, मध्यमार्ग कठिन मार्ग हो । मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो,’ उनले भनेका छन्, ‘यही मार्ग कांग्रेसको मार्ग हो र यही मार्ग कांग्रेसको जीवन दर्शन हो ।’ पार्टीभित्रको विवादका क्रममा आफू विभिन्न आरोपको सामना गरिरहेको उल्लेख गर्दै कोइरालाले व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा कांग्रेस र मुलुकको लोकतान्त्रिक प्रणाली सफल भएको हेर्नु आफ्नो प्राथमिकता रहेको बताएका छन् ।
उनले आफूलाई कांग्रेस र लोकतन्त्रको पक्षमा निरन्तर लागिरहने ‘सिपाही’का रूपमा प्रस्तुत गर्दै पार्टीभित्रको वर्तमान संकट समाधानका लागि संवाद र समझदारीमा जोड दिएका छन् ।








