Ad Image

संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहत कमिटीलाई निर्देशन

User Image Prime TV News एक घण्टा अगाडि
Image of संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहत कमिटीलाई निर्देशन

काठमाडौ । नेकपा एमालेले आगामी असोज ३ गते मनाइने संविधान दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित भव्य रूपमा मनाउन पार्टीका सबै तहका कमिटीलाई निर्देशन दिएको छ ।

एमाले महासचिव शंकर पोखरेलले बिहीबार प्रदेश, जिल्ला तथा स्थानीय तहका पार्टी कमिटीलाई पत्राचार गर्दै संविधान दिवसका अवसरमा आ–आफ्नो क्षेत्रमा विविध कार्यक्रम आयोजना गर्न निर्देशन दिएका हुन् ।

एमालेले विगतका वर्षमा झैँ यस वर्ष पनि संविधान दिवसलाई उत्साहजनक रूपमा मनाउनुपर्ने जनाएको छ । पार्टीले जारी गरेको पत्रमा असोज ३ गतेको संविधान दिवसका अवसरमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी दिवसलाई भव्य रूपमा मनाउन मातहतका सम्पूर्ण कमिटीलाई निर्देशन गरिएको उल्लेख छ ।

एमालेले संविधानको रक्षाको सन्देश प्रवाह गर्ने गरी कार्यक्रम सञ्चालन गर्न भनेको छ । त्यसका लागि स्थानीय आवश्यकता र परिस्थितिअनुसार प्रभातफेरी, दीपप्रज्वलन, विचार गोष्ठी, सरसफाइ अभियानलगायतका कार्यक्रम आयोजना गर्न पार्टी कमिटीलाई भनिएको छ ।

यसका साथै संविधान दिवसलाई लक्षित गरी अन्य सिर्जनात्मक तथा जनसहभागितामूलक कार्यक्रमसमेत सञ्चालन गर्न एमालेले आग्रह गरेको छ । नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको दिनलाई प्रत्येक वर्ष संविधान दिवसका रूपमा मनाइँदै आएको छ ।