Ad Image

नेप्से १२ अंकले बढ्यो, कारोबार रकम साढे ५ अर्ब नजिक

User Image Prime TV News ३ घण्टा अगाडि
Image of नेप्से १२ अंकले बढ्यो, कारोबार रकम साढे ५ अर्ब नजिक

काठमाडौ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सुधार आएको छ ।

नेप्से परिसूचक ११.९३ अंकले बढेर २ हजार ६२४.३६ विन्दुमा पुगेको हो । बिहीबार ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत सकारात्मक रह्यो । आज कुल ३३९ कम्पनीका सेयर कारोबार भएका छन् ।

जसमध्ये १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको मूल्य घटेको छ । १६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । दिनभर ५१ हजार ६७५ पटकको कारोबारबाट १ करोड ३६ लाख ६६७ कित्ता सेयर किनबेच भएका छन् । यसबाट कुल ५ अर्ब ४९ करोड ४७ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबारको तुलनामा बिहीबार कारोबार रकम करिब २ प्रतिशतले बढेको हो । आज नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये लगानी र अन्य समूहबाहेक सबै समूहमा वृद्धि देखिएको छ ।सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक १.०८ प्रतिशतले बढेको छ । अन्य समूहका परिसूचकमा पनि सामान्य सुधार देखिएको छ ।

बिहीबार धौलागिरी लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक, माउण्टेन हाइड्रो नेपाल, एनएमबी हाइब्रिड फन्ड र पिपुल्स हाइड्रोपावरका सेयरधनीले तुलनात्मक रूपमा बढी कमाएका छन् । यसैगरी, हाथवे इन्भेष्टमेन्ट नेपाल, सानिमा लार्ज क्याप फन्ड, लक्ष्मी भ्यालु फन्ड, प्राइम डिबेञ्चर र सीवाईसी नेपाल लघुवित्तका सेयरधनीले बढी गुमाएका छन् ।

कारोबार रकमका आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको ३३ करोड ६२ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समग्रमा बिहीबार बजार परिसूचकसँगै कारोबार रकममा समेत सामान्य वृद्धि देखिएको छ ।