कांग्रेसको १५औँ महाधिवेशनमा ९० प्रतिशत नेता–कार्यकर्ता सहभागी हुने विश्वकर्माको दाबी
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको १५औँ महाधिवेशनमा करिब ९० प्रतिशत नेता–कार्यकर्ता सहभागी हुने दाबी गरेका छन् ।
बिहीबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै विश्वकर्माले निर्धारित कार्यतालिकाअनुसार महाधिवेशनका विभिन्न प्रक्रिया अघि बढिरहेको जानकारी दिए । उनका अनुसार असोज ३ र ४ गते वडा अधिवेशन गरिनेछ । त्यसपछि क्रमशः अन्य तहका अधिवेशन सम्पन्न गर्दै असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी छ ।
विश्वकर्माले महाधिवेशनमा पार्टीका अधिकांश नेता–कार्यकर्ता सहभागी हुने दाबी गर्दै भने, ‘हामी ३१ जनाबाट सुरु गरेका थियौँ, ५१ जना पुग्नुभयो । अधिवेशनमा ९० प्रतिशत साथीहरू सहभागी हुनुहुन्छ ।’ पार्टीभित्र नेतृत्वलाई लिएर भइरहेको चर्चाका क्रममा उनले शेरबहादुर देउवा हाल कुनै पदका उम्मेदवार नरहेको पनि बताए ।
विश्वकर्माका अनुसार पार्टीले आफूहरूले अघि सारेका मागहरू क्रमशः सम्बोधन गर्दै गएको छ । उनले देउवालाई अहिले ‘सर्वोच्च नेता’का रूपमा प्रस्तुत गर्दै आगामी नेतृत्व हस्तान्तरणको विषयमा पनि धारणा राखे । ‘उहाँले सभापति रहेको दाबी गर्नुभएको छ, हामी सर्वोच्च नेता बनाउँछौँ,’ विश्वकर्माले भने, ‘देउवाले कुनै न कुनै नेतालाई नेतृत्व हस्तान्तरण गर्नुहुन्छ ।’
कांग्रेसको आगामी महाधिवेशनमा नेतृत्व चयनसहित पार्टीको आगामी राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय हुने भएकाले महाधिवेशनलाई लिएर पार्टीभित्र चासो बढेको छ ।








