Ad Image

खड्का र कोइरालाका माग सम्बोधन भएको गगन थापाको दाबी

User Image Prime TV News २ घण्टा अगाडि
Image of खड्का र कोइरालाका माग सम्बोधन भएको गगन थापाको दाबी

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेता पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाले अघि सारेका मागहरू सम्बोधन भइसकेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै थापाले खड्काले राखेका ८ बुँदे तथा कोइरालाले प्रस्तुत गरेका ५ बुँदे माग सम्बोधन गरिएको दाबी गरेका हुन् ।

उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न आफूले आवश्यक सबै पहल गर्न तयार रहेको बताए । कांग्रेसभित्र देखिएको मतभेद अन्त्य गर्दै पार्टीको महाधिवेशनलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्नेमा थापाले जोड दिएका छन् ।

बैठकमा पूर्वसभापति शेरबहादुर देउवा पक्षका प्रभावशाली नेताहरूको समेत सहभागिता रहेको बताइएको छ । सम्बोधनका क्रममा थापाले पूर्वसभापति देउवालाई आगामी वडा अधिवेशनमा सहभागी हुन आग्रह गरे । असोज ३ र ४ गतेदेखि वडा अधिवेशन सुरु हुने उल्लेख गर्दै उनले देउवाले अधिवेशनको उद्घाटन गरिदिए पार्टीका लागि सम्मानको विषय हुने बताए ।

‘३ र ४ गतेबाट हाम्रो वडा अधिवेशन हुँदै छ । उहाँले आएर वडा अधिवेशनको उद्घाटन गरिदिए हाम्रो लागि ठूलो सम्मानको विषय हुँदै छ,’ थापाले भने । उनले पार्टीको विधानअनुसार देउवा पुनः सभापति बन्ने अवस्था नरहेको पनि बताए । ‘यो पार्टीको विधानले उहाँ सभापति हुने होइन, उहाँ जसरी पनि बिदा नै भएर जाने हो,’ थापाको भनाइ थियो ।

थापाले पार्टीको इतर पक्षले अघि सारेका सबै माग सम्बोधन भइसकेको दाबी गर्दै पूर्वपदाधिकारी तथा असन्तुष्ट नेताहरूलाई समेत अधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरे । कांग्रेसले आगामी असोज ३ र ४ गते वडा अधिवेशनबाट महाधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।