सरकारसँग एन्फाको आग्रह : पहल नभए फिफाको निर्देशन अनुसार गतिविधि अघि बढाउने
Prime TV News ५९ मिनेट अगाडि 
काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफाबाट लगाइएको निलम्बन फुकुवा गराउन सरकारले तत्काल पहल गर्नुपर्ने बताएको छ ।
सरकारले शुक्रबारसम्म समस्या समाधानका लागि सकारात्मक कदम नचाले आफूहरूले फिफाको निर्देशनअनुसार नियमित गतिविधि अघि बढाउने एन्फाले चेतावनी दिएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एन्फाका पदाधिकारीहरूले राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट रोकिएका गतिविधि तत्काल सञ्चालन गर्न वातावरण बनाउन माग गरेका हुन् ।
एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरले राखेपले एन्फाको कामकारबाही रोक्ने गरी गरेको निर्णय बिनासर्त फिर्ता लिनुपर्ने बताए । साथै, हालको एन्फा कार्यसमितिलाई पुनर्बहाली गर्दै विधानअनुसार रोकिएको निर्वाचन प्रक्रिया तत्काल अघि बढाउनुपर्ने उनको भनाइ छ ।
तुलाधरका अनुसार एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले निलम्बन गरेपछि राखेपले एन्फाका बैंक खाता, वेबसाइट, सामाजिक सञ्जाल, सवारीसाधन तथा प्रशासनिक गतिविधिमा रोक लगाएको थियो । त्यसपछि नेपालमा सञ्चालन हुने घरेलु फुटबलका गतिविधि प्रभावित भएको उनले बताए ।
निलम्बनका कारण नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसरसमेत गुमाइरहेको तुलाधरको दाबी छ । एन्फा महासचिव किरण राईले फिफा तथा एसियाली फुटबल महासंघ (एएफसी)सँग भइरहेको संवाद र समस्या समाधानका लागि सरकारले अघि बढाएको पहलका विषयमा स्पष्ट जानकारी दिन माग गरे ।
एन्फाभित्रको विवाद व्यक्तिविशेषको नभई सैद्धान्तिक विषयसँग जोडिएको उनको भनाइ छ । कुनै एक व्यक्तिले पद छाड्दैमा समस्या समाधान नहुने भन्दै राईले विवादको स्थायी निकास खोज्नुपर्ने बताए । उनले अहिलेको परिस्थितिमा थप टकराव सिर्जना गर्ने पक्षमा एन्फा नरहेको स्पष्ट पार्दै सरकार र सम्बन्धित निकायसँग संवादमार्फत समाधान खोज्न आग्रह गरे ।
राईले फुटबल गतिविधि थप प्रभावित हुने वा कुनै अप्रिय परिस्थिति उत्पन्न हुने अवस्था आए त्यसको जिम्मेवारी कसले लिने भन्ने विषयमा राज्य गम्भीर हुनुपर्ने बताए । एन्फाले सरकारसँग विवाद बढाउनेभन्दा छलफल र सहमतिमार्फत समस्या समाधान गर्न आफूहरू तयार रहेको जनाएको छ ।
साथै, फुटबल गतिविधि नियमित बनाउन तत्काल आवश्यक वातावरण निर्माण गर्न सरकार र राखेपसँग आग्रह गरेको छ ।








