Ad Image

कांग्रेसको १५औँ महाधिवेशनमा कुनै सदस्य वञ्चित नहुने, सबैलाई सहभागी गराइने

User Image Prime TV News ५९ मिनेट अगाडि
Image of कांग्रेसको १५औँ महाधिवेशनमा कुनै सदस्य वञ्चित नहुने, सबैलाई सहभागी गराइने

काठमाडौ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा पार्टीका सबै तहका सदस्यलाई सहभागी गराउने निर्णय गरेको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले सदस्यताकै कारण कुनै पनि नेता–कार्यकर्ता महाधिवेशन प्रक्रियाबाट बाहिरिन नपर्ने गरी संगठनात्मक व्यवस्था मिलाइएको जानकारी दिए ।

उनका अनुसार भदौ २८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले सदस्यता नवीकरण भएका तथा अधिवेशन प्रक्रियामा जोडिएका सबै सदस्यलाई महाधिवेशनमा सहभागी गराउने निर्णय गरिसकेको छ । ‘सदस्यताको नाममा अब कुनै पनि साथीहरू अधिवेशनबाट वञ्चित हुने अवस्था रहँदैन,’ प्रवक्ता चालिसेले भने ।

कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पनि आगामी महाधिवेशनमा सक्रिय रूपमा सहभागी गराउने व्यवस्था गरेको जनाएको छ । पार्टी विधानअनुसार वडा अधिवेशनदेखि केन्द्रीय तहसम्मका सबै अधिवेशनमा समानुपातिक र सहभागितामूलक वातावरण निर्माण गर्ने दिशामा बैठकले जोड दिएको चालिसेले बताए ।

प्रवक्ता चालिसेका अनुसार बैठकमा पार्टीको आन्तरिक एकता, संगठन सुदृढीकरण तथा राष्ट्र निर्माणमा कांग्रेसको भूमिकालगायत विषयमा छलफल भएको छ । उनले १५औँ महाधिवेशनलाई व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न गर्न अधिवेशनको कार्यतालिका कार्यान्वयनमा विशेष ध्यान दिइएको बताए ।

‘१५औँ महाधिवेशनलाई एउटा महोत्सवका रूपमा सम्पन्न गर्न हामीले कार्यतालिकालाई अझ चुस्त र व्यवस्थित बनाउँदै लगेका छौँ । यसले पार्टीलाई थप एकताबद्ध बनाउने छ,’ उनले भने ।पार्टीभित्र देखिएका केही प्राविधिक तथा व्यवस्थापकीय विषय समाधान गर्दै आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउने रणनीति कांग्रेसले लिएको उनले बताए ।

निर्धारित कार्यतालिकाअनुसार सबै तहका अधिवेशन सम्पन्न गर्न सम्बन्धित कमिटीहरूलाई आवश्यक निर्देशन दिइसकिएको चालिसेले जानकारी दिए । बैठकमा सहभागी नेताहरूले पार्टीको आगामी राजनीतिक यात्रा तथा संगठन सुदृढीकरणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेको पनि उनले बताए ।