Ad Image

नयाँ विशेषता सहितको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

User Image Prime TV News एक घण्टा अगाडि
Image of नयाँ विशेषता सहितको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

काठमाडौ । नेपाल राष्ट्र बैंकले नयाँ विशेषता समेटिएको ५० रुपैयाँ दरको बैंक नोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ।

साविककै आकार र रङमा नयाँ नोट जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार नयाँ ५० रुपैयाँको नोटमा ‘ट २४, ०००००१’ देखि ‘ण ७०, ९९९९९९’ सम्मका संकेत नम्बर भएका नोट जारी गरिनेछन्।

नोटमा २०८३ साल असोज २ गतेदेखि चलनचल्तीमा ल्याइएको उल्लेख गरिएको छ। नोटको अगाडिको मध्य भागमा नेपाल राष्ट्र बैंक र नेपाल सरकारको जमानत सम्बन्धी प्रतिज्ञा मूलक वाक्यांश राखिएको छ।

बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापको तल ‘५०’ अंकित पानी छापसमेत रहेको राष्ट्र बैंकले जनाएको छ।

नयाँ नोटमा राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ। त्यस्तै, नोटमा १.२ मिलिमिटर चौडा कागजमा बुनिएको सुरक्षा धागो राखिएको छ। प्रकाशतर्फ पारेर हेर्दा उक्त सुरक्षा धागो पूर्ण रूपमा देखिने र त्यसमा ‘एनआरबी’ लेखिएको छ।

नोटको पछाडिको भागमा हिउँ चितुवाको चित्र राखिएको छ। चित्रको माथि ‘नेपाल राष्ट्र बैंक’ तथा तल्लो भागमा ‘रुपिज फिफ्टी’ र ‘२०२५ एडी’ उल्लेख गरिएको छ।

राष्ट्र बैंकले यसअघि २०७७ साल असार २२ गतेदेखि ५० रुपैयाँ दरको २०१९ सिरिजको बैंकनोट चलनचल्तीमा ल्याउने सूचना प्रकाशित गरेको थियो।

उक्त सिरिजमा रहेका संकेत नम्बरमध्ये ‘ज ८९, ०००००१’ देखि ‘ट २३, ९०००००’ सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।