गणेशमान सिंहको आदर्श पुनःस्थापित गर्नुपर्छ : गगन थापा
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले लौहपुरुष गणेशमान सिंहले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुनःस्थापित गर्नुपर्ने बताएका छन्।
गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले कांग्रेस अहिले १५औँ महाधिवेशनको यात्रामा रहेकाले यसलाई केवल नेतृत्व चयन गर्ने अवसरका रूपमा मात्र नहेर्न आग्रह गरेका छन्।
उनले गणेशमान सिंहजस्ता अग्रज नेताले स्थापित गरेको लोकतान्त्रिक मूल्य, त्याग र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्ने अवसरका रूपमा महाधिवेशनलाई लिनुपर्ने उल्लेख गरेका छन्।
थापाले समयसँगै चुनौतीहरू परिवर्तन भए पनि लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन परिस्थितिमा सही पक्षमा उभिने साहसको आवश्यकता अझ बढेको बताएका छन्।
उनले गणेशमान सिंहका आदर्शलाई आत्मसात् गर्दै नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार नेपाली कांग्रेसलाई थप सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गर्नुपर्नेमा जोड दिएका छन्।






