Ad Image

एमाले अध्यक्ष ओली र महासचिव पोखरेलबीच गुण्डुमा चर्काचर्की

User Image Prime TV News एक घण्टा अगाडि
Image of एमाले अध्यक्ष ओली र महासचिव पोखरेलबीच गुण्डुमा चर्काचर्की

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदनलाई लिएर चर्काचर्की भएको छ।

निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न बिहीबार बिहान ओलीनिवास गुण्डुमा नेताहरू भेला भएका थिए। छलफलका क्रममा अध्यक्ष ओलीले प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै आफूले दिएको निर्देशनअनुसार पुनर्लेखन गर्न आग्रह गरेपछि महासचिव पोखरेलले त्यसको प्रतिवाद गरेको सहभागी नेताहरूले बताएका छन्।

ओलीले पार्टी निर्माणमा आफ्नो योगदानको स्मरण गराउँदै आफूले दिएको निर्देशन पालना गर्न नेताहरूलाई आग्रह गरेका थिए। त्यसक्रममा उनले प्रतिवेदन पुनर्लेखन गर्नुपर्ने धारणा राखेका थिए। ओलीको प्रस्तुतिप्रति असहमति जनाउँदै पोखरेलले आफू अध्यक्षको कारिन्दा नभई एमालेको जिम्मेवार नेता तथा पार्टीको सिपाही भएको बताएका थिए।

एमाले निर्माणमा सबै नेता–कार्यकर्ताको योगदान रहेको र पार्टीको अवस्था सुधार्न नेतृत्वले पनि जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो। पोखरेलले कार्यदलले पार्टीका नेता तथा कार्यकर्ताबाट प्राप्त सुझावलाई आधार बनाएर प्रतिवेदन तयार पारेको भन्दै त्यसलाई बेवास्ता गर्न नहुने तर्क गरेका थिए। पार्टीलाई जनमुखी बनाउन र कार्यकर्तामा देखिएको असन्तुष्टि सम्बोधन गर्न उनीहरूले दिएका सुझाव प्रतिवेदनमा समेटिएको उनको भनाइ थियो।

छलफलमा सहभागी एक नेताका अनुसार पोखरेलले जनताको कुरा नसुन्ने व्यक्ति प्रभावकारी नेता बन्न नसक्ने धारणा पनि राखेका थिए। त्यसपछि एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पनि कार्यकर्ताका सुझावलाई बेवास्ता नगर्न नेतृत्वलाई आग्रह गरेका थिए। उनले पार्टी कुनै एक व्यक्तिको नभई सबै नेता तथा कार्यकर्ताको साझा संस्था भएकाले निर्णय प्रक्रियामा कार्यकर्ताको भावना समेटिनुपर्ने बताएका थिए।

बैठकमा सहभागी नेताहरूका अनुसार कार्यदलको प्रतिवेदनलाई नेतामुखीभन्दा कार्यकर्तामुखी बनाउनुपर्नेमा अधिकांशको धारणा थियो। तर, अध्यक्ष ओली भने प्रतिवेदनको विद्यमान स्वरूपप्रति सन्तुष्ट नरहेको बताइएको छ। छलफलपछि ३ असोजसम्म प्रतिवेदनलाई साझा दस्तावेजका रूपमा तयार गर्ने, ४ असोजमा सचिवालय बैठक बस्ने र ५ असोजदेखि केन्द्रीय कमिटी बैठक सुरु गर्ने गरी नेताहरू गुण्डुबाट बाहिरिएका थिए।

प्रतिवेदनलाई साझा बनाउन प्रारम्भिक मस्यौदा तयार गर्ने जिम्मेवारी नेता प्रदीप ज्ञवालीलाई दिइएको छ। कार्यदलका महासचिव पोखरेलले तयार पारेको प्रतिवेदन लेखन प्रक्रियामा समेत ज्ञवाली प्रत्यक्ष रूपमा संलग्न रहेको विषय नेताहरूले अध्यक्ष ओलीसमक्ष राखेको बताइएको छ।