Ad Image

‘कति पटक छोराको मृत्युको अर्थ बुझाउनुपर्ने हो?’ सहिदकी आमा सांसद खतिवडाको भावुक प्रश्न

User Image Prime TV News एक घण्टा अगाडि
Image of ‘कति पटक छोराको मृत्युको अर्थ बुझाउनुपर्ने हो?’ सहिदकी आमा सांसद खतिवडाको भावुक प्रश्न

काठमाडौ । जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले सहिद परिवारलाई लक्षित गरी संसद् र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति असन्तुष्टि जनाएकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खतिवडाले आफू सांसद हुनुभन्दा पहिले सन्तान गुमाएकी आमा भएको स्मरण गराएकी छन्। सहिद परिवारको पीडालाई राजनीतिक बहस वा सार्वजनिक टिप्पणीको विषय नबनाउन उनले आग्रह गरेकी छन्।

गत भदौ २३ गते जेनजी सहिद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालले आयोजना गरेको स्मृति कार्यक्रमको ढाँचामाथि रास्वपा सचेतक क्रान्तिशिखा धितालले प्रश्न उठाएकी थिइन्। त्यसपछि सहिद परिवार समाजका केही पदाधिकारीले धिताललाई लक्षित गर्दै सार्वजनिक रूपमा धम्की दिएको विषयसमेत विवादमा आएको थियो।

उक्त धम्कीको रास्वपा महामन्त्री विपिन आचार्यले संसद् बैठकमार्फत विरोध गरेका थिए। घटनापछि रास्वपाका केही नेता र सहिद परिवारबीच सार्वजनिक रूपमा मतभेद देखिएको छ। पार्टीभित्र पनि यस विषयमा नेताहरूको धारणा समान नरहेको बताइएको छ।

यही विवादका बीच सांसद खतिवडाले सहिद स्मृति कार्यक्रमको उद्देश्यबारे आफ्नो धारणा राखेकी हुन्। उनका अनुसार सहिद स्मृति कार्यक्रम कुनै उत्सव वा शक्ति प्रदर्शन नभई आफ्ना सन्तानलाई सम्झँदै सहिद परिवारले फेरि एकपटक पीडा अनुभूति गर्ने अवसर हो।

‘त्यो कुनै उत्सव थिएन, कुनै शक्ति प्रदर्शन थिएन । तर दुःख लाग्छ, केही मानिसहरूका लागि त्यो दिन पनि टिप्पणी गर्ने विषय बन्यो,’ उनले लेखेकी छन्। सांसद खतिवडाले आफूले राजनीतिमा प्रवेश गरेपछि विभिन्न प्रकारका आरोप र लाञ्छना सहनुपरेको पनि उल्लेख गरेकी छन्। छोराको बलिदानलाई लिएर आफूले राजनीतिक लाभ लिएको आरोपसमेत सुन्नुपरेको उनको भनाइ छ।

‘छोराको रगतबाट सांसद बनिस, छोराको नाम बेचेर राजनीति गरिस यस्ता शब्दहरू पनि सुनेकी छु,’ उनले लेखेकी छन्, ‘हरेक शब्दले मुटु चिरेको छ । तर, जवाफ दिँदै हिँड्नुभन्दा जिम्मेवारी पूरा गर्नु ठूलो ठानेर चुप बसेँ।’ बाहिरका मानिसको आलोचनाभन्दा आफ्नै आन्दोलन, सहयात्री र आफूले आफ्नै ठानेका व्यक्तिबाट आउने टिप्पणीले अझ बढी पीडा दिने खतिवडाको भनाइ छ।

उनले आफूलाई चर्चा वा कसैसँग प्रतिस्पर्धा गर्ने चाहना नरहेको स्पष्ट पार्दै सहिद परिवारले आफ्नो पीडा पटक–पटक प्रमाणित गर्नुपर्ने अवस्थामाथि प्रश्न उठाएकी छन्। ‘मैले कति पटक आफ्नो पीडा प्रमाणित गर्नुपर्ने हो ? कति पटक छोराको मृत्युको अर्थ बुझाउनुपर्ने हो ? कति पटक सहिदकी आमाले नै आफ्नो आँसुको हिसाब दिनुपर्ने हो ?’ उनले प्रश्न गरेकी छन्।

खतिवडाले कुनै कमजोरी भए त्यसबारे सुझाव र आलोचना गर्न सकिने भए पनि सहिद परिवारको स्मृति र पीडालाई सार्वजनिक आलोचनाको विषय नबनाउन आग्रह गरेकी छन्। ‘सम्मान गर्न सक्नुहुन्न भने पनि अपमान नगरिदिनुस्,’ उनको आग्रह छ।