Ad Image

१३ देशका लागि राजदूत सिफारिस गर्दै सरकार

User Image Prime TV News २ घण्टा अगाडि
Image of १३ देशका लागि राजदूत सिफारिस गर्दै सरकार

काठमाडौ । सरकारले विभिन्न १३ देशका लागि नेपाली राजदूत नियुक्त गर्न नाम सिफारिस गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले आज असोज २ गते दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आजको बैठकले राजनीतिक कोटाअन्तर्गत १३ जना व्यक्तिको नाम विभिन्न मुलुकका लागि राजदूतमा सिफारिस गर्नेछ।

परराष्ट्रमन्त्रीले राजदूत सिफारिससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेका छन्। स्रोतका अनुसार अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, इजरायल, दक्षिण कोरिया र अस्ट्रियासहित १३ देशका लागि राजदूत सिफारिस गरिनेछ।

‘अर्को दुई–तीन घण्टामा कुनै व्यवधान नआए आज मन्त्रिपरिषद्को बैठकले राजनीतिक कोटाअन्तर्गत विभिन्न देशमा राजदूत नियुक्तिका लागि १३ जनाको नाम सिफारिस गर्नेछ,’ परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

सरकारले पहिलो चरणमा राजनीतिक नियुक्तितर्फ राजदूत सिफारिस गर्ने र दोस्रो चरणमा परराष्ट्र सेवाका करियर डिप्लोम्याट अर्थात् मन्त्रालयका सहसचिवमध्येबाट राजदूत सिफारिस गर्ने तयारी गरेको स्रोतको भनाइ छ।

यसअघि परराष्ट्र मन्त्रालयले २०८३ जेठ १४ गते सूचना जारी गर्दै रिक्त रहेका १३ मुलुकका लागि राजदूत नियुक्तिका लागि आवेदन मागेको थियो। मन्त्रालयले अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अस्ट्रियाका लागि आवेदन खुला गरेको थियो।

आवेदन दिने अन्तिम मिति २०८३ जेठ २२ गते साँझ ५ बजेसम्म तोकिएको थियो। मन्त्रालयका अनुसार उक्त अवधिमा करिब २ हजार ७ सय व्यक्तिबाट झन्डै ४ हजार आवेदन परेको थियो। अब मन्त्रिपरिषद्ले गर्ने सिफारिसपछि सम्बन्धित मुलुकका लागि राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।