घरायसी र व्यावसायिक ग्यासको सिलिन्डर र मूल्य छुट्ट्याउने तयारी
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । सरकारले खाना पकाउने एलपी ग्यासको घरायसी र व्यावसायिक प्रयोग छुट्ट्याउने प्रक्रिया अघि बढाएको छ।
बजारमा देखिएको ग्यासको कालोबजारी तथा आपूर्ति व्यवस्थापनमा देखिएको अन्योल अन्त्य गर्ने उद्देश्यले सरकारले घरायसी र व्यावसायिक प्रयोजनका लागि फरक सिलिन्डर र मूल्य निर्धारण गर्ने तयारी गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यससम्बन्धी अध्ययन गर्न १५ दिनको समयसीमा तोकेर कार्यदल गठन गरेको छ। कार्यदलले घरायसी तथा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने ग्यासलाई कसरी छुट्टाछुट्टै वर्गीकरण गर्ने र दुवैको मूल्य निर्धारण कसरी गर्ने भन्ने विषयमा अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन बुझाउनेछ।
कार्यदलमा सम्बन्धित सरकारी निकाय तथा ग्यास उद्योगीका प्रतिनिधि रहनेछन्। मन्त्रालयले उद्योग विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, नेपाल आयल निगम, नेपाल एलपी ग्यास उद्योग संघ र एलपी ग्यास उद्योग संघ नेपाललाई पत्राचार गर्दै प्रतिनिधि पठाउन आग्रह गरेको छ।
कार्यदलको संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत संस्थान, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण महाशाखाका प्रतिनिधि रहने व्यवस्था गरिएको छ। कार्यदलका सदस्यमा नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक वा निर्देशक, उद्योग विभागका निर्देशक (सि.डि.के.ई.), नेपाल गुणस्तर तथा नापतौल विभागका गुणस्तर हेर्ने निर्देशक तथा ग्यास उद्योग संघका दुई जना प्रतिनिधि रहनेछन्।
संयोजकले तोकेको सम्बन्धित महाशाखाका उपसचिव सदस्य–सचिव रहने व्यवस्था छ। कार्यदलले नेपालमा हाल प्रयोग हुँदै आएको खाना पकाउने ग्यासलाई सर्वसाधारणका लागि घरायसी तथा होटल, रेस्टुरेन्ट र उद्योगका लागि व्यावसायिक प्रयोजनमा वर्गीकरण गर्ने सम्भावनाबारे अध्ययन गर्नेछ। त्यसैगरी दुवै प्रयोजनका ग्यासको मूल्य कसरी निर्धारण गर्ने भन्ने विषय पनि अध्ययनको मुख्य कार्यसूचीमा राखिएको छ।
नेपाल गुणस्तर तथा नापतौल विभागले होटल तथा रेस्टुरेन्टलगायत व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने ४५० केजी क्षमताको ठूलो ग्यास सिलिन्डरको मापदण्ड स्वीकृत गरिसकेको छ। तर, नेपाल आयल निगमले व्यावसायिक ग्यासको बिक्री मूल्य तथा अनुदानसम्बन्धी कार्यविधि टुंग्याउन बाँकी रहेकाले स्वीकृत मापदण्ड अनुसारको व्यावसायिक सिलिन्डर प्रयोगमा आउन सकेको छैन।
अब गठन भएको कार्यदलले घरायसी र व्यावसायिक ग्यासको वर्गीकरण, सिलिन्डरको व्यवस्था तथा मूल्य निर्धारणसम्बन्धी अध्ययन गरी प्रतिवेदन बुझाउनेछ। प्रतिवेदनका आधारमा सरकारले व्यावसायिक र घरायसी ग्यासका लागि फरक सिलिन्डर तथा मूल्य निर्धारण गर्ने अपेक्षा गरिएको छ।
सरकारको यो कदम कार्यान्वयनमा आएमा घरायसी प्रयोजनका लागि दिइँदै आएको ग्यासको व्यावसायिक प्रयोग नियन्त्रण हुनुका साथै बजारमा देखिएको मूल्यसम्बन्धी अन्योल र कालोबजारी न्यूनीकरणमा सहयोग पुग्ने विश्वास सरकारको छ ।








