Ad Image

चार जिल्ला सभापतिको जिम्मेवारी खोस्दै कांग्रेसले तोक्यो कार्यवाहक

User Image Prime TV News २ घण्टा अगाडि
Image of चार जिल्ला सभापतिको जिम्मेवारी खोस्दै कांग्रेसले तोक्यो कार्यवाहक

काठमाडौ । नेपाली कांग्रेसले १५औँ महाधिवेशन अन्तर्गतका अधिवेशन प्रक्रिया अघि बढाउन असहयोग गरेको भन्दै चार जिल्लाका जिल्ला सभापतिको जिम्मेवारी खोसेको छ ।

पार्टीको संस्थापनपक्षले कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिलाई जिम्मेवारीबाट हटाउँदै उनीहरूको स्थानमा कार्यवाहक सभापति तोकेको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार महाधिवेशनको प्रक्रिया अघि बढाउन नसक्ने अवस्थामा रहेका जिल्ला सभापतिहरूको जिम्मेवारी परिवर्तन गरिएको हो ।

जिम्मेवारी खोसिएका चारै जना सभापति पूर्वसभापति शेरबहादुर देउवानिकट मानिन्छन् । कञ्चनपुरका सभापति पदम बोगटीको स्थानमा हरिचन्द्र राना, मुगुका सभापति ऐनबहादुर शाहीको स्थानमा हरिजंग शाही, डोटीका सभापति नरेन्द्रबहादुर सिंहको स्थानमा नारायणबहादुर बलायर तथा बागलुङका सभापति जित शेरचनको स्थानमा तारानाथ पौडेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।

कांग्रेसले १५औँ महाधिवेशनको तयारी अघि बढाउँदै जिल्ला तहमा अधिवेशन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । तर, केही जिल्लामा अधिवेशनको प्रक्रिया र समयतालिकालाई लिएर विवाद देखिएपछि केन्द्रीय नेतृत्वले जिल्ला सभापतिहरूको जिम्मेवारी परिवर्तन गरेको हो ।

जिम्मेवारी परिवर्तनसँगै सम्बन्धित जिल्लामा महाधिवेशनका लागि आवश्यक अधिवेशन प्रक्रिया अघि बढाउने जिम्मेवारी नयाँ कार्यवाहक सभापतिहरूलाई दिइएको छ । यस घटनाले कांग्रेसभित्र महाधिवेशनको तयारीसँगै संस्थापन र देउवानिकट समूहबीचको मतभेद पनि सतहमा ल्याएको छ ।