Ad Image

राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित नौ जनाले दिए सामूहिक राजीनामा

User Image Prime TV News एक घण्टा अगाडि
Image of राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित नौ जनाले दिए सामूहिक राजीनामा

काठमाडौ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले सामूहिक रूपमा पार्टीबाट राजीनामा दिएका छन् ।

उनीहरूले काठमाडौंको शान्तिनगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाउँदै आजैदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

सामूहिक राजीनामा दिनेमा पार्टीका महासचिव केशव कुमार झासहित केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकज कुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु रहेका छन् । उनीहरूले संयुक्त रूपमा हस्ताक्षर गरेको राजीनामा पत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका हुन् ।

राजीनामा पत्रमा आफूहरू आजैको मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गरिएको छ । पत्रमा उनीहरूले पार्टीभित्रका आफ्ना सबै जिम्मेवारी र सदस्यता त्यागेको स्पष्ट पारेका छन् ।

सामूहिक राजीनामामार्फत उनीहरूले पार्टी नेतृत्व तथा अध्यक्ष राजेन्द्र महतोको आगामी राजनीतिक यात्राको सुखद भविष्यको कामनासमेत गरेका छन् । महासचिवसहित महत्वपूर्ण पदाधिकारी तथा सदस्यहरूले एकैपटक राजीनामा दिएपछि राष्ट्रिय मुक्ति पार्टी नेपालभित्रको संगठनात्मक अवस्थाबारे थप चासो बढेको छ ।