Ad Image

राष्ट्रियसभा शून्य समयमा सांसदहरूले उठाए महिला हिंसादेखि सडक पूर्वाधारसम्मका मुद्दा

User Image Prime TV News ५४ मिनेट अगाडि
Image of राष्ट्रियसभा शून्य समयमा सांसदहरूले उठाए महिला हिंसादेखि सडक पूर्वाधारसम्मका मुद्दा

काठमाडौ । राष्ट्रियसभाको शून्य समयमा सांसदहरूले मुलुकमा भइरहेका समसामयिक तथा गम्भीर जनसरोकारका विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।

उनीहरूले महिला हिंसा र बलात्कारका घटना, आपराधिक गतिविधिमा संलग्नलाई हुने कारबाही, सर्वोच्च अदालतको सुरक्षा तथा ग्रामीण क्षेत्रको सडक पूर्वाधारको अवस्थाबारे सरकारलाई सचेत गराएका हुन्।

सांसद पूजा चौधरीले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई बाल सुधार गृह पठाइएको तथा अन्यलाई धरौटीमा छाडिएको विषयमा आपत्ति जनाइन्। उनले गम्भीर आपराधिक घटनामा संलग्न व्यक्तिलाई सहज रूपमा समाजमा फर्काउने अवस्था सिर्जना हुन नहुने भन्दै दोषीलाई कडा कानुनी कारबाही र जन्मकैदको व्यवस्था गर्न माग गरिन्।

त्यसैगरी, सांसद रुक्मिणी कोइरालाले पछिल्लो समय देशका विभिन्न क्षेत्रमा महिला हिंसा तथा बलात्कारका घटना दोहोरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले यस्ता घटनाको नियन्त्रण, पीडितलाई न्याय र दोषीमाथि प्रभावकारी कारबाहीका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने बताइन्।

सांसद विष्णुबहादुर विश्वकर्माले भदौ २४ गते सर्वोच्च अदालतमा भएको तोडफोडको घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। उनले सर्वोच्च अदालतजस्तो संवेदनशील र गरिमामय संस्थाको सुरक्षा व्यवस्था थप मजबुत बनाउनुपर्ने बताउँदै घटनाको उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरे।

यस्तै, सांसद कृष्णप्रसाद अधिकारीले देशका विभिन्न स्थानमा सडक, बाटो र पुलको अवस्था दयनीय रहेको विषय उठाए। विशेषगरी रसुवा जिल्लाका विभिन्न गाउँपालिकामा सडक तथा यातायातको अभावका कारण स्थानीय नागरिकले दैनिक सास्ती भोग्नुपरेको उनले बताए। उनले तत्काल सडक मार्ग सञ्चालनमा ल्याउनुका साथै खाद्यान्न, औषधि र अत्यावश्यक उपभोग्य सामग्रीको सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरे।

अधिकारीले स्थानीय तहसँग आवश्यक समन्वय गरी अवरुद्ध सडक तथा पूर्वाधार निर्माणको काम तत्काल अघि बढाउनुपर्नेमा जोड दिए। शून्य समयमा उठाइएका यी विषयमार्फत सांसदहरूले नागरिकका दैनिक समस्या समाधान गर्न सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।