Ad Image

जनमत पार्टीको दोस्रो महाधिवेशन : अध्यक्षमा सिके राउत निर्विरोध

User Image Prime TV News ४४ मिनेट अगाडि
Image of जनमत पार्टीको दोस्रो महाधिवेशन : अध्यक्षमा सिके राउत निर्विरोध

काठमाडौ । जनमत पार्टीको दोस्रो महाधिवेशन अन्तर्गत विभिन्न पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार नामावली अनुसार पार्टी अध्यक्ष पदमा सिके राउत निर्विरोध निर्वाचित हुने भएका छन्। पार्टीको दोस्रो महाधिवेशनमा ७ जना उपाध्यक्षका लागि १४ जनाले उम्मेदवारी दिएका छन्।

त्यस्तै, महासचिव पदका लागि ३ जना, राष्ट्रिय उपमहासचिव पदका लागि २ जना र केन्द्रीय कार्यकारिणी समिति सदस्यका लागि ७३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। महाधिवेशनमा निर्वाचित हुन उम्मेदवारले खसेको सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको छ।

सो प्रावधानका कारण उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने पदमा आवश्यक मत प्राप्त गर्नुपर्ने चुनौती रहनेछ। केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली असोज ५ गते प्रकाशन गरिनेछ। त्यसपछि असोज ९ गते केन्द्रीय कार्यकारिणी समिति बैठक बस्ने कार्यतालिका रहेको छ।

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा आयोजना हुनेछ। सोही दिन विभिन्न पदका लागि मतदानसमेत हुने जनाइएको छ। अध्यक्षमा राउत निर्विरोध भएसँगै महाधिवेशनको मुख्य प्रतिस्पर्धा उपाध्यक्ष, महासचिव, राष्ट्रिय उपमहासचिव तथा कार्यकारिणी समिति सदस्यका पदमा केन्द्रित हुने भएको छ।