Ad Image

कांग्रेस विवादमा शेखर कोइराला एक्लिँदै, अधिकांश नेता गगन पक्षको महाधिवेशन प्रक्रियामा

User Image Prime TV News ४७ मिनेट अगाडि
Image of कांग्रेस विवादमा शेखर कोइराला एक्लिँदै, अधिकांश नेता गगन पक्षको महाधिवेशन प्रक्रियामा

काठमाडौ । नेपाली कांग्रेसभित्र जारी विवादका बीच नेता डा. शेखर कोइराला मध्यमार्गी भूमिकामा रहे पनि क्रमशः एक्लिँदै गएको देखिएको छ।

पूर्वउपसभापति धनराज गुरुङसहित संस्थापनइतरका अधिकांश नेताहरू सभापति गगन थापाले अघि सारेको महाधिवेशन प्रक्रियामा सहभागी हुने तयारीमा रहेपछि कोइराला दबाबमा परेका हुन्। पूर्वसभापति शेरबहादुर देउवा पक्षका अधिकांश नेताहरूलाई सभापति थापाले स्वागत गरेपछि कोइरालाले वार्तामार्फत विवाद समाधान गर्न अपिल गरेका थिए।

उनले आफू तत्काल कुनै पक्षमा नलागी मध्यमार्गी भूमिकामै रहने संकेत गरेका छन्। तर, कोइरालानिकट केही नेताबाहेक अधिकांश नेता महाधिवेशन प्रक्रियामा सहभागी हुने तयारीमा रहेको एक कांग्रेस पदाधिकारीले दाबी गरेका छन्।

ती पदाधिकारीका अनुसार पूर्वउपसभापति धनराज गुरुङ, किरण यादव, चन्द्रमोहन यादव, कृष्णचन्द्र नेपाली, दीपक गिरी र रुक्मिणी कोइरालालगायत नेता महाधिवेशन प्रक्रियामा सहभागी हुनेछन्। कोइरालानिकट रहेका बद्री पाण्डे, सञ्जय गौतम र सरिता प्रसाई भने अहिलेसम्म महाधिवेशन प्रक्रियामा सहभागी नहुने पक्षमा रहेको बताइएको छ।

ती पदाधिकारीले १४औँ महाधिवेशनबाट निर्वाचित पूर्वपदाधिकारीमध्ये बद्री पाण्डे र उमाकान्त चौधरीबाहेक अधिकांश नेता महाधिवेशन प्रक्रियामा सहभागी हुने दाबीसमेत गरेका छन्। यसैबीच लामो समयदेखि पूर्वसभापति देउवानिकट रहँदै आएका विजयकुमार गच्छदार पनि संस्थापन पक्षले अघि सारेको महाधिवेशन प्रक्रियामा सहभागी हुन तयार भएको ती पदाधिकारीको भनाइ छ।

कांग्रेसभित्र नेतृत्व र महाधिवेशन प्रक्रियालाई लिएर विवाद चर्किरहेका बेला नेताहरूको ध्रुवीकरण तिब्र रुपमा देखिएको छ ।