चाडपर्वपछि सरकारविरुद्ध बृहत् आन्दोलनको तयारीमा छौँ : प्रचण्ड
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले चाडपर्व सकिएपछि सरकारविरुद्ध बृहत् आन्दोलन अघि बढाउने तयारी भइरहेको बताएका छन्।
अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै दाहालले सरकारप्रति जनआक्रोश बढ्दै गएको दाबी गरे। उनले विभिन्न राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजसँग आन्दोलनका विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिए।
उनले संसद्भित्र रहेका प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याएर संयुक्त रूपमा सरकारका गतिविधिविरुद्ध आवाज उठाउने प्रयास भइरहेको वताए । साथै सरकारमाथि सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी तथा ट्रेड युनियन र मजदुर आन्दोलनसँग जोडिएका समूहप्रति दमन र ज्यादती गरेको आरोप समेत उनले लगाए।
‘सरकारले सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले दमन सुरु गरेको छ,’ उनले भने, ‘त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको पनि तयारीमा छौँ।’
उनले आगामी ठूला चाडपर्वको अवधिलाई आन्दोलनको तयारीका लागि समेत उपयोग गर्ने बताए। चाडपर्वपछि मुलुकको परिस्थिति हेरेर आफूहरूले सरकारका गतिविधिविरुद्ध प्रतिवादलाई अघि बढाउने उनको भनाइ थियो।
‘चाडपर्वका यो अवधिभित्र पनि हामीले तयारीका कामलाई अगाडि बढाउँछौँ,’ प्रचण्डले भने, ‘चाडपर्व पछिको देशको परिस्थिति हेरेर प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध प्रतिवाद र एउटा नयाँ आन्दोलन सृष्टि गर्नुछ।’
आन्दोलनलाई प्रभावकारी बनाउन सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले जिम्मेवारीपूर्वक ठूलो छाती बनाएर विभिन्न समूह तथा शक्तिलाई एकताबद्ध गर्नुपर्ने बताए।








