नेप्से २२.८५ अंकले बढ्यो, कारोबार रकम पनि ६ अर्ब ७४ करोड नाघ्यो
Prime TV News ५८ मिनेट अगाडि 
काठमाडौ । साताको पाँचौं तथा अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ।
नेप्से परिसूचक २२.८५ अंकले बढेर २ हजार ६४७.२२ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बिहीबार नेप्से ११.९३ अंकले बढेर २ हजार ६२४.३६ बिन्दुमा पुगेको थियो। शुक्रबार परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको छ।
यस दिन ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बिहीबार ५ अर्ब ४९ करोड ४७ लाख ६७ हजार रुपैयाँको कारोबार भएको थियो। शुक्रबार सेन्सेटिभ इन्डेक्स ५.३२ अंकले बढेर ४४६.७७ बिन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट इन्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९० अंकले बढेको छ।
कुल ३४५ वटा स्टकको ६४ हजार ७२ पटक कारोबार हुँदा २ करोड १२ लाख ७२ हजार ७६१ कित्ता सेयर किनबेच भएका छन्। शुक्रबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटा उपसमूहको सूचक बढेको छ भने दुई उपसमूहको सूचक घटेको छ।
बैंकिङ उपसमूहको सूचक सर्वाधिक १.५९ प्रतिशतले बढेको छ। त्यस्तै, जीवन बीमा उपसमूहको सूचक १.५२ प्रतिशतले उकालो लागेको छ। यस दिन स्नो रिभर्स लिमिटेडको सेयर मूल्य सर्वाधिक १३.६६ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा शुक्रबार कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको ३२ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ। सेयर बजारका लगानीकर्ताले नेप्सेको ऐतिहासिक उच्च बिन्दु पुनः पार हुने अपेक्षा गरिरहेका छन्। २०७८ भदौ २ गते नेप्से परिसूचक हालसम्मकै उच्च ३ हजार १९९.०३ बिन्दुमा पुगेको थियो।
त्यसयता बजारले उक्त ऐतिहासिक उचाइलाई स्थायी रूपमा पार गर्न सकेको छैन। २०८१ साउन ३१ गते नेप्से ३ हजार ०.८१ बिन्दुसम्म पुगेको थियो भने २०८२ साउन १३ गते पुनः ३ हजार २.०८ बिन्दुसम्म उक्लिएको थियो।
त्यसपछि बजारमा निरन्तर उतारचढाव देखिँदै आएको छ। पछिल्लो समय २ हजार ६०० बिन्दुको तहमा फर्किएको बजारले अब पुनः ३ हजार २०० बिन्दुको मनोवैज्ञानिक तह पार गर्ने दिशामा गति लिन सक्ने वा नसक्ने विषय लगानीकर्ताको चासोमा परेको छ।








