प्रधानमन्त्री शाह २२ सेप्टेम्बरमा न्यूयोर्क जाने, २४ सेप्टेम्बरमा राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनअन्तर्गत आयोजना हुने ‘उच्चस्तरीय सप्ताह’ मा नेपालको सहभागिताबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिएको छ।
मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आगामी २२ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नेछ। प्रधानमन्त्री शाहले २४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ। यसैगरी, महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रमहरूमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल प्रधानमन्त्री शाहभन्दा दुई दिनअघि अर्थात् २० सेप्टेम्बरमै न्यूयोर्क प्रस्थान गर्नेछन्।
नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी हुने मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सप्ताहका क्रममा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता र कार्यक्रमहरूमा समेत सहभागिता जनाउनेछ।
प्रधानमन्त्री शाह २६ सेप्टेम्बर २०२६ मा स्वदेश फर्कने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।








