भारत, चीन र अमेरिकाका लागि राजदूत सिफारिस
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । सरकारले भारत, चीन र अमेरिकासहित १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याण शर्मा र अमेरिकाका लागि चीरन थापालाई राजदूतका रूपमा सिफारिस गरेको हो। मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रबाट विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका तथा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका व्यक्तिहरूलाई राजदूतका रूपमा अघि बढाउने निर्णय गरेको सरकारले जनाएको छ।
सरकारका अनुसार सिफारिस भएका व्यक्तिहरूलाई अब संसदीय सुनुवाइका लागि पठाइनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि प्रस्तावित राजदूतहरूको नाम सम्बन्धित मुलुकमा ‘एग्रिमो’ (स्वीकृति) का लागि पठाइनेछ। सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भएपछि राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।
सरकारले भारत, चीन र अमेरिकाबाहेक बेलायत, जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि पनि राजदूत सिफारिस गरेको छ।








