देउवाबाट पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकको उद्घाटन गर्दै सभापति देउवाले स्वास्थ्यका कारण सक्रिय रूपमा काम गर्न नसक्ने अवस्था आएको भन्दै कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई सुम्पिएको घोषणा गरेका हुन्।
"मेरो स्वास्थ्यका कारण म पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रूपमा काम गर्ने गरी तोकेको छु," देउवाले भने, "उहाँले पार्टीको वृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।"
जेनजी आन्दोलनपछि पहिलोपटक बसेको केन्द्रीय कार्यसमितिको बैठकले कांग्रेसभित्र उत्पन्न आन्तरिक असन्तोष र संगठनभित्रको अनुशासनको विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ। यसै सन्दर्भमा देउवाको यो निर्णयलाई नेतृत्व हस्तान्तरणको प्रारम्भिक संकेतको रूपमा पनि हेरिएको छ।
पूर्णबहादुर खड्का लामो समयदेखि पार्टीको नेतृत्व तहमा सक्रिय छन्। उनी देउवाको निकट सहयोगीका रूपमा चिनिन्छन् र सरकार तथा पार्टी दुवैमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका छन्।












