निजामती सेवा विधेयकमा अवकाश उमेरसम्बन्धी विवाद टुंगोमा


काठमाडौं । संघीय निजामती सेवा विधेयकमा निजामती कर्मचारीको अवकाश उमेर हदसम्बन्धी उत्पन्न विवाद अन्ततः समाधान भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रतिनिधि सभाबाट पारित भएको प्रस्तावलाई स्वीकार गर्ने निर्णय गरेसँगै विधेयकमा देखिएको गाँठो खुलेको हो।
प्रतिनिधि सभाले पारित गरी राष्ट्रिय सभामा पठाएको विधेयकमा अवकाश उमेर क्रमशः ५८, ५९ र ६० वर्षमा पुर्याउने व्यवस्था गरिएको छ। उक्त प्रस्ताव अनुसार, ऐन लागू भएको वर्षमा ५८ वर्ष, दोस्रो वर्षमा ५९ वर्ष र तेस्रो वर्षदेखि ६० वर्ष उमेर पुगेका कर्मचारीले अवकाश पाउनेछन्। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले मंगलबार सम्पन्न राष्ट्रिय सभा समितिको बैठकमा प्रतिनिधि सभाको प्रतिवेदन यथावतरूपमा आत्मसाथ गर्ने निर्णय सुनाउँदै विवाद टुंगोमा पुर्याइन्।
प्रतिनिधि सभाले जसरी पास गरेर पठाएको छ, त्यसलाई नै आत्मसाथ गरेर जाऔं, मन्त्री न्यौपानेले भनिन्,"प्रधानमन्त्री देशबाहिर हुनुहुन्छ, यस्तो अवस्थामा बहुमत–अल्पमतको विवादमा नजाऔं, विधेयक सर्वसम्मत रूपमा पारित गर्ने परम्परा जोगाऔं।"
उनले निजामती विधेयकमा आफूले अघि सारेको प्रस्तावमा कुनै व्यक्तिगत स्वार्थ नरहेको स्पष्ट पारिन् । निर्णयसँगै केही समयदेखि अन्योलमा रहेको निजामती सेवा विधेयक अगाडि बढ्ने मार्ग खुलेको छ। विधेयक पारित भएसँगै संघीय निजामती सेवा संरचनालाई कानुनी आधार दिन समेत सहज हुने विश्वास गरिएको छ।