मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा, प्रदेश प्रमुखले स्वीकृत
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत नआउने पक्का भएपछि मंगलबार पदबाट राजीनामा दिएका छन्। प्रदेश प्रमुख सुमित्रा भण्डारीले सोही दिन सिंहको राजीनामा स्वीकृत भएको छ ।
प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले नयाँ सरकार गठनको मार्ग खोल्न आफूले पदबाट राजीनामा दिने निर्णय गरेको घोषणा गरेका थिए। सिंहले आफ्नो अभिव्यक्तिमा राजनीतिक स्वार्थभन्दा माथि उठेर जनताको हित र संवैधानिक मर्यादालाई प्राथमिकता दिएको बताए।
"म सत्ताका लागि होइन, सिद्धान्त र संविधानका पक्षमा उभिएको छु," सिंहले भने, "संकटकालमा साँचो मित्र र साँचो चरित्रको परीक्षा हुन्छ। आज म त्यही परीक्षामा छु।"
उनले मधेस र मधेशी जनताको हितलाई सधैं पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै, व्यक्तिगत स्वार्थभन्दा जनताको विश्वासलाई मूल्यवान ठानेको बताए। सिंह नेतृत्वको सरकार अल्पमतमा पुगेपछि मंगलबार विश्वासको मत लिने कार्यसूचीसहितको प्रदेशसभा बैठक बोलाइएको थियो। तर, विश्वासको मत प्राप्त गर्ने अवस्था नरहेपछि सिंहले पदबाट बहिर्गमनको घोषणा गरे।
अब मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। प्रदेश प्रमुखले बहुमत जुटाउन सक्ने सांसद वा गठबन्धनलाई नयाँ सरकार गठनका लागि आह्वान गरिने छ ।












