प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ नेताहरूसँग उच्चस्तरीय भेटवार्ता तय

User Image Prime TV News एक महिना अगाडि
Image of प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ नेताहरूसँग उच्चस्तरीय भेटवार्ता तय

काठमाडौै । शांघाई सहयोग संगठन एससीओ प्लस शिखर सम्मेलनमा सहभागी भएर तियानजिन सहरको भ्रमण सम्पन्न गरेका प्रधानमन्त्री केपी शर्मा ओली आज रेलमार्ग हुँदै चीनको राजधानी बेइजिङ पुगेका छन्  ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, तियानजिनमा आयोजना भएको कार्यक्रमपछि उनी रेलबाट बेइजिङ गएका हुन्। राजधानी प्रवेश गर्नेक्रममा चिनियाँ अधिकारीहरूले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए।

प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग बेइजिङमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भेटपश्चात् उपराष्ट्रपति चङ्गद्वारा आयोजना गरिने अधिकारिक रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहनेछ।

यसअघि, तियानजिनमा प्रधानमन्त्री ओली र राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय भेटवार्ता भइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस्तै प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले बेइजिङमा आयोजना हुने एक विशेष कार्यक्रममा सहभागी हुने छ। उक्त समारोह दोस्रो विश्वयुद्धको अन्त्य र जापानी अतिक्रमणविरुद्ध चिनियाँ जनताको संघर्षमा विजयको ८०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिँदैछ। यस समारोहमा विश्वका अन्य देशका नेताहरूको पनि उपस्थिति रहनेछ।

बेइजिङस्थित विजय दिवस समारोहमा सहभागिता पश्चात प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल त्यही दिन नेपाल फर्कने कार्यक्रम रहेको जनाइएको छ।