टी–२० विश्वकप छनोटको निर्णायक खेल : नेपाल आज ओमानसँग आमने–सामने
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपाल र ओमानबीच रोमाञ्चक भिडन्त हुँदैछ। खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ।
यो खेल नेपालका लागि अत्यन्तै निर्णायक मानिएको छ। ओमानलाई पराजित गर्न सके नेपालले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछ। त्यसैले आजको खेललाई नेपाली टोलीले “विश्वकपको ढोका खोल्ने अवसर” को रूपमा लिएको छ।
नेपालले यसअघि सुपर सिक्स चरणमा युएई र कतारलाई हराउँदै आत्मविश्वास बढाएको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले बलिङ र ब्याटिङ दुवै विभागमा सन्तुलित प्रदर्शन गर्दै आएको छ। तर घरेलु मैदानको फाइदा उठाउने ओमानलाई हराउन सजिलो हुने छैन।
सुपर सिक्सका खेलहरू सकिएपछि शीर्ष तीन टोलीले विश्वकपका लागि सिधा छनोट पाउने छन्। त्यसैले आजको खेलले नेपालको भविष्य निर्धारण गर्नेछ।







