सरकारबाट बाहिरिँदा स्थायी हटाइ भन्नु भ्रम हो: ओली
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सरकारबाट बाहिरिएको भन्दै एमालेको भविष्य सकियो भन्ने सोच गलत भएको बताएका छन्। उनले एमालेलाई सरकारबाट टाढा राख्न वर्षौंदेखि षड्यन्त्र भइरहेको आरोप समेत लगाएका छन्।
बुधबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारमा हुँदा एमालेले देश र जनताको पक्षमा उल्लेखनीय काम गरेको दाबी गरे। “हामी सरकारबाट हट्यौँ, कसैलाई व्यक्ति मन नपर्नु, कसैलाई पार्टी मन नपर्नु बेग्लै कुरा हो,” उनले भने, “तर देशका लागि नेकपा एमाले आवश्यक छ। एकछिन हामी सरकारबाट हट्दा सधैँ हट्यो भन्ने भ्रममा नपर्नुहोस्।”
ओलीले एमालेको सक्रियता र जनपक्षीय कामकै कारण पार्टी आलोचनाको केन्द्रबिन्दुमा परेको बताए। उनले हालको सत्ता समीकरणप्रति संकेत गर्दै संविधान जारी भएयता एमालेविरुद्ध षड्यन्त्र चलिरहेको आरोप समेत लगाए।
“कहिले संविधानको नाममा, कहिले गठबन्धनको नाममा हामीलाई सरकारबाट रोक्ने प्रयास हुँदै आएको छ,” ओलीले भने, “तर एमालेलाई हटाएर देशको समृद्धि सम्भव छैन।”







