नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग तीव्र, २४८८ प्रतिनिधिको हस्ताक्षर बुझाइयो
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बनेको छ। देशभरका महाधिवेशन प्रतिनिधिहरूबाट संकलन गरिएको २४८८ जनाको हस्ताक्षर पार्टीको कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको छ।
कांग्रेस नेता गुरु घिमिरेको नेतृत्वमा सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशनको माग गरिएको हो। घिमिरेका अनुसार यो संख्या कांग्रेसको १४औं महाधिवेशनमा निर्वाचित कुल प्रतिनिधिको करिब ५३ प्रतिशत हो।
“यो माग पार्टीभित्रको विद्रोह हैन, इतिहासमै सुवर्णशम्शेर राणाजस्ता नेताले देखाएको लोकतान्त्रिक अभ्यासको निरन्तरताको प्रयास हो,” नेता गुरु घिमिरेले बताए । नेता घिमिरेले देश र पार्टी दुबै जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै विशेष महाधिवेशनबाट पार्टीलाई नयाँ दिशा दिने लक्ष्यसहित प्रतिनिधिहरूले हस्ताक्षर अभियान चलाएको स्पष्ट पारे।
हालैको जेनजी आन्दोलनपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग तीव्र बनेको थियो। पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि विशेष महाधिवेशनको पक्षमा खुलेर उभिएका छन्। उनीहरूले नियमित महाधिवेशन असम्भव देखिएको अवस्थामा विशेष महाधिवेशन अपरिहार्य भएको तर्क गरेका छन्।
नेपाली कांग्रेसको विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको ५० प्रतिशतभन्दा बढीले विशेष महाधिवेशनको माग गरेमा सभापतिले महाधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ। हाल बुझाइएको हस्ताक्षरले सो सीमा पार गरिसकेको छ।







